गलकोट नगरपालिकाले विद्यार्थीलाई लिन घरघरै गाडी

काठमाडौँ । साउन १८, बाग्लुङको गलकोट नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लिन घरघरै गाडी पुग्नेगर्छ ।
समायोजन र तह मिलानपछि विद्यालयबाट टाढा घर भएका बालबालिकालाई आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले गाडीको व्यवस्था गरिदिएको हो ।
यातायातको सुविधा भएपछि आजभोलि विद्यार्थी लिन गाडी घर–घरमा पुग्छन् । आफूलाई घरमै गाडी लिन आएपछि विद्यार्थी पनि उत्साहित भएका छन् ।
दैनिक घण्टौँ लगाएर विद्यालय पुग्ने विद्यार्थी अहिले छोटो समयमा नै पुग्छन् भने समयमै घरमा फर्किने गरेका छन् । गलकोट नगरपालिकाको सबैभन्दा टाढाको बस्ती झिर्का र टोकरी गाउँ हुन् । यी गाउँबाट आधारभूत र माध्यमिक तह अध्ययन गर्न जनहित माध्यमिक विद्यालय मल्लमा झनुपर्छ ।
विद्यालय झर्दा ओरालो पर्ने हुँदा एकै घण्टामा पुग्ने गरे पनि घर फर्किँदा दुई घण्टा बढी लाग्थ्यो । अहिले नगरपालिकाले भ्यानमा विद्यार्थी ओसारपसार गर्न थालेपछि समयमै घरमा पुग्न थालेका छन् ।