सम्पत्ति छानबिन बारे आयोग बनाउन गणेशमान पुनको प्रस्ताव

काठमाडौं । साउन १९, नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेशमान पुनले २०४६ सालपछि सत्तामा भएका सबै नेताहरूको सम्पत्ति छानबिन तथा भ्रष्टाचार निवारणका लागि सर्वशक्ति सम्पन्न आयोग निर्माण गर्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय समितिको चौँथो पूर्ण बैठकको तेस्रो दिन प्रस्तावित प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा नेता पुनले यो प्रस्ताव गरेका हुन् ।
उनले नेपालको राजनीति, हरेक पार्टी, हरेक तहका नेताहरूलाई दलालहरूले गाँजेको भन्दै त्यसैले राजनीतिक शुद्धीकरण र यसैको आधारमा पार्टीमा शुद्धीकरण पनि हुने बताए ।
अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदन मूलभूत हिसाबले सही भएकोले त्यसको मूल स्पिरिटमा समर्थन गर्ने उनले बताए ।