झापा कारागारमा भएको झडप साम्य

काठमाडौं । साउन १९, चौकीदारको सरुवाको विरोधामा जिल्ला कारागार झापामा भएको झडप साम्य भएको छ ।
कारागार व्यवस्था विभागले चौकिदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।
झडपपछि कैदीबन्दीले कारागार भित्रै टायर बालेर प्रदर्शन गरेका थिए । कारागार भित्रबाट बाहिर ढुंगामुढा पनि गरेका थिए ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार शुक्रबार प्रहरीले सरुवाका लागि चौकीदार मनोज लावतीलाई बाहिर निकालेको थियो । तर कैदीबन्दीको विरोध र आगजनी प्रयासपछि भने उनलाई कारागार भित्रै पठाइएको छ ।
कारागारबाटै कैदीबन्दी भाग्ने अवस्था बनेपछि कारागारलाई घेरेर केही राउण्ड हवाइ फायर पनि गरेको उनले बताए । सरुवाका लागि कारागारबाट बाहिर निकालिएका चौकीदार लावतीलाई झापामै छाडेपछि अवस्था सामान्य बनेको उनले बताए ।