राजस्वद्धारा अनुसन्धानको फाइल नै प्रहरीलाई जिम्मा लगाउने तयारी

काठमाडौं । साउन २१, राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल प्रहरीलाई बुझाउने भएको छ ।
विभागले उच्च सरकारी वकिलको कार्यालयको राय समेत लिएर राजस्व चुहावटको अनुसन्धानको फाइलसमेत प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाई बुझाउने तयारी गरेको हो । विभागले केहीबेरमा यसबारे पत्रकार सम्मेलन गर्दैछ ।
‘हामीले अहिलेसम्म गरेका सबै अनुसन्धानको फाइल नै प्रहरीलाई जिम्मा लगाउने तयारी गरेका छौं, यसबारे के हुन्छ भनेर राय मागेका थियौं’, राजस्व अनुसन्धान विभाग स्रोतले भन्यो, ‘सरकारी वकिलको कार्यालयबाट राय आएपछि हामीले फाइल बुझाउने तयारी भएको छ ।’
राजस्व चुहावटको अनुसन्धान र मुद्दा चलाउने जिम्मेवारी राजस्व अनुसन्धान विभागको हो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणमा ‘संगठित अपराध’ मा अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए । त्यसपछि राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको अनुसन्धानको जिम्मेवारी समेत प्रहरीलाई दिने तयारी गरेको हो ।
विभागले गर्ने राजस्व अनुसन्धानको प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयको राय लिएर उच्च अदालतमा मुद्दा दायर गर्छ । तर अब प्रहरीलाई जिम्मेवारी दिएपछि मुद्दाको प्रक्रिया कसरी अघि बढ्छ भन्ने अस्पष्ट छ ।
प्रहरीले संगठित अपराधको अभियोग अघि बढाउदा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्छ । सुन बरामद भएको घटनाको ‘राजस्व चुहावट’को मुद्दा संगठित अपराधको अभियोगसँग जोडेर अघि बढाउदा जिल्ला अदालतमै मुद्दा चलाउनुपर्छ ।