अमेरिकाका होटेल व्यावसायीले खरिद गरे टाइगर प्यालेस
काठमाडौँ । साउन २३, भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटेल चलाइहेका बुद्धिसागर सुवेदीलगायतको समूहले खरिद गरेको छ ।
सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता छ ।
टाइगर प्यालेसमा करिब तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले लामो समयदेखि रिसोर्ट बिक्री गर्ने प्रयास गरेको थियो ।
तर, रिसोर्ट स्थापना गर्दाका नेपाली साझेदार राजेन्द्र बजगाईंले असहयोग गरेपछि त्यो प्रयास सफल हुन सकेको थिएन । तर, सुवेदीसहितको समूहले हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद गरेपछि रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगरमा सरेको हो ।
विगत ७-८ महिनादेखिको प्रयासपछि यो सम्झौता सम्भव भएको सुवेदीको भनाइ छ । ‘हामीले नेपाल सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेका छौं, यस हिसाबले कुल लगानी पाँच अर्ब रुपैयाँभन्दा बढी हुन्छ होला,’ हिमालयन टाइगरका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष सुवेदीले भने ।
सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु सञ्चालन गरिरहेका छन् । उनीलगायतको समूहले अमेरिकाको सिकागो, वासिंगटन डिसी, नर्थ क्यारोलिना, लुजियानालगायत ठाउँमा होटेल चलाइरहेका छन् ।