गोरखामा चम्किलो ढुंगा परीक्षण गर्न खानी विभागको टोली पुुगे

काठमाडौँ । साउन २३, जिल्ला प्रहरी कार्यालय गोरखाले बरामद गरेको चम्किलो ढुंगा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको विज्ञ टोली गोरखा आइपुगेको छ ।
जियोलोजिष्ट डा. सुस्मिता भण्डारी र दुर्गा बोलाखे परीक्षणका लागि सोमबार जिल्ला आइपुगेका हुन् । आज (मंगलबार)बाट परीक्षणको काम सुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बताए ।
विभाग लैजान समस्या हुने भन्दै प्रशासनले पुनः पत्राचार गर्दै विज्ञ टोली पठाएर जिल्लामै परीक्षण गरिदिन आग्रह गरेपछि विभागले आवश्यक उपकरणसहित विज्ञ टोली पठाएको हो ।
गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक व्यक्तिको घरबाट प्रहरीले उक्त ढुंगा बरामद गरेको थियो । ५४ किलो वजनको उक्त ढुंगा विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
उक्त ढुंगा बहुमूल्य रहेको भनिए पनि परीक्षण नगरी एकीन नहुने जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । ‘हामीले केही भूगर्भविदलाई भिडियो कल गरेर देखाउँदा यो ‘क्वार्ज क्रिष्टल’ ढुंगा हो तर कुन गुणस्तरको भन्ने कुरा परीक्षण गरेपछि मात्र थाहा हुने भन्नुभएको थियो,’ उनले भने ।
यसअघि परीक्षणका लागि उक्त ढुंगा बाहिर लैजाने चर्चा चलेको थियो । तर स्थानीयको विरोधपछि विज्ञ टोलीलाई जिल्लामै बोलाएर परीक्षण गर्न लागिएको हो ।