सुपारीको राजधानी तथा उर्वरभूमि बन्दै झापा
काठमाडौँ । साउन २४, धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमा समेत चिनिएको छ ।
झापालाई अहिले सुपारीको पकड क्षेत्र पनि भनेर चिन्ने गरीएको छ । धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिन्छ ।
हिन्दू धर्ममा सुपारीको दानालाई गणेशका रुपमा पूजा गरिने चलन चल्दै आएको त्यसैले सुपारीको धेरै महत्व छ ।
यसको दानालाई फरक स्वादका लागि पानको पातसँग मुखमा चपाउने र पाहुनाको स्वागत गर्ने खाद्य वस्तुका रुपमा धेरै मानिसले प्रयोग गर्दै आएका छन् ।
यसको पातबाट वातावरणमैत्री थाल तथा बटुकासमेत उत्पादन हुने गरेको छ । वर्षौदेखि जिल्लामा सुपारीको खेती हुँदै आए पनि यसको खेतीले व्यावसायिकस्वरुप धारण गरेको भने धेरै भएको छैन ।
अरु बालीभन्दा कम लागतमा बढी आम्दानी पाइने भएकाले किसान धान र अन्य बालीको साटो सुपारी खेतीमा आकर्षित हुन थालेका छन् ।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार सुपारीको व्यावसायिक खेती झापासहित कोशीका चार जिल्लामा हुने गरेको छ । सुनसरी, मोरङ र उदयपुरमा पनि यसको व्यावसायिक खेती हुने गरेको छ ।
मन्त्रालयका कृषि विज्ञ अभिमन्यू अधिकारीका अनुसार कोशी प्रदेशको कूल सुपारी उत्पादनमध्ये दुई तिहाइभन्दा बढी सुपारी झापामै उत्पादन हुने गरेको छ । त्यही कारण झापालाई सुपारीको राजधानी तथा उर्वरभूमि पनि भन्ने गरिन्छ ।
एकपटक लगाएपछि पुस्तौँसम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने र पातदेखि फलसमेत बोटबाटै बिक्री हुने गरेको उनले बताए । उनले जङ्गली हात्तीले सुपारी बालीलाई कम क्षति गरेको पाइएको बताए ।
स्वदेशमा सुपारी खेती विस्तारसँगै यसबाट लाभान्वित किसानको सङ्ख्या बढ्दै गएको छ ।
बहुवर्षे बाली भएकाले एकै वर्षमा एउटा बोटबाट ५० किलोसम्म सुपारी फलाउन सकिन्छ । स्वदेशमा खेती र उत्पादनको प्रचुर सम्भावना भए पनि तेस्रो मुलुकबाट आयातित सुपारीको तस्करी धन्धाका कारण स्थानीय किसान मारमा परेका छन् ।
सरकारले तोकेको भारत निकासी कोटामा विदेशी सुपारी मिसाउने धन्धाका कारण स्वदेशी सुपारीको बजार अन्योल र विवादमा पर्ने गरेको किसानको गुनासो छ ।