डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो सबै भन्दा धेरै कोशीमा

काठमाडौँ । साउन २५, सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या बढ्दै गएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा १० हजार ७ सय २६ जनालाई डेंगु संक्रमण देखिएको छ। संक्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ।
महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगु संक्रमण बढिरहेको बताए।
यसपटक कोशी प्रदेशमा संक्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा आठ हजार एक सय नौ जनामा डेंगु संक्रमण बढिरहेको देखिएको छ।
उनले यसैगरी डेंगु संक्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने बताए। सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो।
संक्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ। महाशाखाका अनुसार सुनसरीमा छ हजार ४१ जनामा डेंगु संक्रमण देखिएको छ।
डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्छ।
बागमती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा संक्रमण देखिएको छ।