संसदमा बोल्न समय नदिए विद्रोह गर्ने शर्माको चेतावनी

सहयात्रा टिभी

काठमाडौं । साउन २८ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसदमा बोल्न पटकपटक समय माग्दा पनि नपाएको गुनासो गरेका छन् । अब पनि बोल्न समय नदिए विद्रोह गर्ने उनको चेतावनी छ ।

आइतबार पार्टी संसदीय दलको बैठकमा सहभागी भएका शर्माले पछिल्लो समय संसद बोल्न माग्दा समय नपाएको बताए ।

पटकपटक माग्दा पनि प्रमुख सचेतकले समय नदिएपछि आफूले मिडियासँग बोलेको उनले सुनाए ।

मोरङ ३ बाट निर्वाचित सांसद शर्माले बोल्न समय दिए पार्टीले भनेको निर्देशनभन्दा बाहिर नजाने बताए । उनले अघि भने, ‘तर पञ्चायत जस्तो बोल्न दिनु भएन भने म बिद्रोह गर्छु । सभामुखसँग समय माग्छु, दिनु भएन भने उभिन्छु ।’

पछिल्लो पटक आफूले अब पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर बोलेको समेत उनले सुनाए ।

शर्माले अघि भने, ‘मेरो पार्टी सभापतिलाई प्रधानमन्त्री बनाउँछु भन्दा गल्ती भयो भने फिर्ता लिन तयार छु ।’

 

प्रकाशित : 13 August, 2023

प्रतिक्रिया दिनुहोस्