सुन काण्डमा सत्ता र प्रमुख प्रतिपक्षबीच संवादको तयारी

काठमाडौ । साउन ३०, सुन तस्करी काण्डमा सत्ता र प्रमुख प्रतिपक्षबीच देखिएको लफडाको निकास खोज्न देउवाले केही दिनमा ओलीसँग संवाद गर्ने तयारी छ ।
सुन तस्करी काण्डको छानबिन राज्यका संयन्त्रबाटै गर्नुपर्ने सत्ता पक्षको अडान र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेकपा एमालेको मागको मारमा संसद परेको छ ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा बरामद गरेदेखि नै एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ । यही माग राखेर एमालेले १० साउनदेखि संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ ।
संसदको गतिरोध अन्त्यका लागि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको अग्रसरतामा छलफलहरु भए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्यका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक संवाद पनि गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा राखेर प्रधानमन्त्री प्रचण्डले ओलीसँग गरेको वार्ताबाट पनि कुनै निकास निस्किएन ।
सभामुख देवराज घिमिरेको समन्वयमा पनि प्रचण्ड, देउवा र ओलीबीच छलफल भयो । उनीहरुबिच हुने छलफलमा पछिल्ला दिनमा कांग्रेस, एमाले र माओवादीका संसदीय दलका प्रमुख सचेतक पनि सहभागी हुने गरेका थिए । सभामुखको समन्वयमा भएको छलफलबाट समेत संसद खुलाउने निकास निस्किएन ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई शीतलनिवास बोलाएर संसदको गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेका थिए । सुन काण्डको छानबिनमा सत्ता र प्रमुख प्रतिपक्ष एक ठाउँमा आउन नसकेको अवस्थामा संसदको पहिलो दल नेपाली कांग्रेसले संसदीय दलको बैठक राख्यो ।
एमालेलाई संसदको कर्तव्य सम्झाएर कांग्रेस बैठक सकिएको देखिन्छ । यद्यपि बैठकमा केही सांसदले उच्चस्तरीय छानबिन समितिको माग नराखेका होइनन् । सुन तस्करीमा माओवादी नेताको संलग्नता देखिएको भन्दै कांग्रेसका केही सांसदले बैठकमा उच्चस्तरीय छानबिन समितिको आवश्यकता औँल्याएका थिए ।
कांग्रेस र गठबन्धनको निर्णयबाट एमाले थप चिढिएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले संसदलाई बन्धक बनाउने काममा सत्तापक्षको हर्कत नै मुख्य जिम्मेवार रहेको बताए ।
सत्तापक्षका सांसदहरु आफ्नै हातमा हतकडी लाग्छ भनेजस्तो गरेर बोलिरहेका गिरीको भनाइ छ । सरकारले नै संसदको भूमिकालाई निस्तेज पार्न चाहेको उनको आरोप छ ।
प्रतिपक्षले संसदमा उठाएको मागलाई नजरअन्दाज गरी अनुचित अडान राखेर सत्ता गठबन्धनले हठ देखाएको उनले बताए । सदनभित्र आफ्ना माग सुन्ने परिस्थिति नबने सडकमा जाने पनि उनले चेतावनी दिए ।
कांग्रेस संसदीय दलका सचेतक रमेश लेखक भने एमालेसँग छलफल गरेर भदौ ३ को संसद बैठकसम्म सहमतिमा पुग्ने बताउँछन् ।
कांग्रेस संसदीय दलको बैठकमा पनि संसदको गतिरोध अन्त्यका लागि पहल कदमी लिन देउवालाई सांसदहरुले सुझाएका थिए । कांग्रेसका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासमा राखेर देउवाले केही दिनमा ओलीसँग संवाद गर्ने तयारी छ । ‘अहिले ओलीजीसँग भेट्दा गठबन्धनमा आशंका पैदा हुन्छ । प्रधानमन्त्रीजीसँग छलफल गरेरै सभापतिजीले ओलीसँग भेटवार्ता गर्नुहुन्छ । हाम्रोतर्फबाट भदौ ३ भित्र निकास खोज्ने प्रयत्न हुन्छ ।’