सरकारद्धारा भारतसँग १ लाख टन चामल माग गर्दै पत्राचार

काठमाडौँ । साउन ३१, सरकारले भारतसँग एक लाख ५५ हजार टन खाद्यान्न माग गर्दै पत्राचार गरेगरेको जानकारी प्राप्त भएको छ ।
भारतको निर्यात प्रतिबन्धको नीतिका कारण नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्ने भन्दै सरकारले धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्राचार गरेको हो ।
उद्योग वाणिज्य, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान नेपालमा आपूर्ति गरिदिन भारतलाई पत्राचार गरेको बताए ।
परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई लेखेको पत्र मंगलबार पुगेको तर त्यसबारे औपचारिक जवाफ नआइसकेको मन्त्रालयकी प्रवक्ता राधिका अर्यालले जानकारी दिइन् ।
भारतले ४ साउनमा बासमती बाहेकका सेतो चामलको निर्यात रोक्ने निर्णय गरेको थियो ।
भारतको निर्णयको असर नेपाली बजारमा देखिन सक्ने भएकाले परिमाण तोकेर खाद्यान्नका आयातका लागि आग्रह गरिएको सहसचिव अर्यालले जानकारी दिइन् ।