भोट माग्न ‘रेकर्डेड’ अपिल !

सहयात्रा टिभी

ताप्लेजुङ । अहिले अधिकांश दलका नेताहरुलाई आरोप लाग्ने गरेको छ–‘नेताहरु काम भन्दा कुरा मात्र बढी गर्छन् ।’ पटक–पटकको चुनावमा जिताएर पठाएका नेताले आफ्नो जिल्लाको विकासका लागि सिन्को नउठाएको देख्दा सर्वसाधरणको आरोपमा सत्यता पनि देखिन्छ ।

नेताहरुको पटक–पटकको आश्वासनबाट आजित बनिसकेका सर्वसाधरण नागरिक आफ्नै अगाडि नेताहरु आएर आफूले यी–यी काम गर्नु भनेर वाचा गर्दा त पत्याउँदैनन् भने सन्देश रेकर्ड गराएर भोट माग्दा सर्वसाधरणले कतिको पत्याउँलान् । तर सुदूर पूर्वको ताप्लेजुङका विकट गाउँमा आसन्न चुनावका लागि भोट माग्न उम्मेद्वाहरुरले यति विधि र शैली अपनाएका छन् । नेताहरुको यो भोट माग्ने शैलीप्रति ताप्लेजुङ्ग गोला र याङ्माका सर्वसाधरणले पनि कुनै आपति जनाएका छैनन् । किनकी भोट माग्नका लागि यो शैली अपनाउनु उम्मेद्वारका लागि वाध्यता हो । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सीमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् ।

यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्च बाहेक निर्वाचन आयोगले मात्र चार हजार भन्दा बढी खर्च गर्नुपर्छ र तीन दिनको एकतर्फी यात्रा गर्नुपर्ने वाध्यता छ । मुलुककै तेस्रो ठूलो जिल्लाको रुपमा रहेको ताप्लेजुङको आधा भूगोल यिनै दुई स्थानले ओगट्छ । कुनै पनि राजनीतिक दलका नेता भोट माग्न त्यहाँ पुग्न सक्दैनन् । यहि मंसिर १० गते हुन गइरहेको निर्वाचनको प्रचार–प्रसारका क्रममा प्रतिनिधिसभाका वाम गठबन्धनका साझा उम्मेद्वार योगेश भट्टराईले ‘रेकर्ड’ गरेर आफ्ना योजना र अपिल जनता समक्ष पठाएका छन् । यो जिल्लाबाट एक जना मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । प्रतिनिधिसभा सदस्यका लागि कूल ७ उम्मेद्वार मैदानमा छन् । प्रदेश ‘क’ र ‘ख’ मा ८–८ जना उम्मेद्वार छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेद्वार केशवप्रसाद दाहालले पनि रेकर्डमार्फत नै भोट मागेका छन् । प्रदेश ‘ख’ मा पर्ने यी ठाउँमा कुनै उम्मेद्वार पुग्न सकेनन् । उनीहरुले रेकर्डिङ पठाएर भोट मागे । फुङ्लिङका स्थानीय पत्रकारका अनुसार त्यहाँका मतदाता अन्यत्रै व्यवसायमा रहेकाले मत खसाल्न पनि कमै आउने गर्छन् । मतदाताको संख्याको तुलनामा आधा मात्र मत खस्ने गर्छ । काठमाण्डौं र भारतका विभिन्न भागमा रहेर आफ्ना व्यवसाय गर्ने भएकाले उनीहरुलाई मतदान गर्न लगाउन पनि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने हुन्छ । मुलुकको सुदूर पूर्वको उत्तर छेउमा पर्ने यस जिल्लाका सबै स्थानका जनतालाई चुनावी अभियानमा सहभागी गराउन अत्यन्त कठिन भए पनि निर्वाचन आयोगले त्यहाँका जनताको मताअधिकारलाई सम्मान गर्दै आएको छ ।

जिल्लाका कठिन र विकट स्थानमा निर्वाचन अधिकारी खटाएर भए पनि त्यस्ता विकट स्थानमा बसोबास गर्दै आएका बालिग मतदाताको मतदानलाई सुरक्षित गर्ने कर्तव्यलाई आयोगले ध्यान दिएको छ । यस पटक पनि निर्वाचन आयोगले मंगलबार नै त्यहाँका लागि निर्वाचन टोली पठाइसकेको छ । जिल्लाका प्रमुख निर्वाचन अधिकृत कृपाशुर कार्कीका अनुसार उक्त निर्वाचन क्षेत्रका लागि जना मतदान अधिकृत पठाइसकिएको छ । आवश्यक पर्ने सबै सामग्रीसहित निर्वाचन टोली बिहीबार त्यहाँ पुगेको छ ।

निर्वाचन आयोगले यहाँका अतिविकट स्थानका एक हजार ३२१ मतदाताका लागि नगद १५ लाख ८५ हजार, सुरक्षाकर्मी बाहेक ७३ जना कर्मचारी र तीन दिनको एकतर्फी यात्राको प्रवन्ध मिलाउनु पर्छ । मतदाताको मत सुरक्षित गर्ने दायित्व पूरा गर्न ठूलो रकम, जनशक्ति र समय खर्चेर थोरै मत संकलन गर्नुपरेको यथार्थ निर्वाचन अधिकृत कार्की सुनाउँछन् । यस पटक फक्ताङलुङ गाउँपालिकाको ग्याब्लामा ४९ जना मतदाता छन् । उक्त निर्वाचन केन्द्रका लागि नौ जना कर्मचारी खटाइएको छ भने उनीहरुलाई दुई लाख तीन हजार ७ सय खर्च दिइएको छ । यस स्थानको एक मत सुरक्षित गर्न चार हजारभन्दा बढी पर्न गएको छ । यो निर्वाचन केन्द्रबाट स्थानीय तह निर्वाचनका बेला मत खसाल्न पाउने मतदाताको संख्या ४० रहेको थियो भने २९ मत मात्र खसेको थियो ।

यता फक्ताङलुङ गाउँपालिका– ७ को याङ्यामा आधारभूत विद्यालयमा ५७ जना मात्र मतदाता छन् । त्यस निर्वाचन केन्द्रका लागि निर्वाचन आयोगले नौ जना कर्मचारी खटाएको छ भने उनीहरुलाई दुई लाख १७ हजार रकम दिइएको छ । यहाँ पनि प्रतिमत झण्डै चार हजार खर्च बेहोर्नुपर्छ । यहाँ स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या ५५ रहेको थियो भने ३६ जनाले मात्र मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृत कार्की भन्छन्–‘प्रजातन्त्रमा जनताको मत अमूल्य हुन्छ ।’ ताप्लेजुङ्गमा कूल जनसंख्या एक लाख ९१ हजार ८१७ रहेको छ भने कूल मतदाता ७९ हजार ३९७ छन् ।

 

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्