१२९ जना कैदी फरारको घटना एक कैदीको मृत्युपछि सुरु भएको थियो

सहयात्रा टिभी

काठमाडौँ । भदौ ४, सोमबार भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट १२९ जना कैदी फरारको घटना आइतबार त्यहाँका एक कैदी मृत्यु प्रकरणसँग जोडिएको छ ।

२९ जेठ २०७७ देखि कैद भुक्तान गर्दै आएका मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षका कमल बस्नेत अचानक बेहोस भएपछि गठ्ठाघरस्थित नागरिक अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।

बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्षमुनिका कुनै व्यक्तिले फौजदारी अपराध गरेमा बाल सुधार गृहमा राख्ने व्यवस्था गरेको छ । त्यही अनुसार, देशभर ८ वटा बाल सुधार गृह सञ्चालित छन् ।

भक्तपुर, मोरङ, कास्की, बाँके, मकवानपुर, डोटी, पर्सा र रुपन्देहीमा बाल सुधार गृह छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत सरकारले बालसुधार गृह चलाउँदै आएको छ । तीमध्ये ४ वटा सरकारले नै सञ्चालन गरिरहेको छ भने बाँकी गैरसरकारी संस्थाले चलाउँदै आएका छन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार, सानोठिमीस्थित सुधार गृह युसेप नेपाल नामक संस्थाले चलाउँदै आएको थियो । पछिल्लो गणना अनुसार, सुधार गृहमा २९९ जना कैदीबन्दी थिए ।

आइतबार मृत्यु भएका श्रेष्ठको बायाँतिर तीघ्रामा पिलो आएको थियो भने लामो समयदेखि आँखामा समस्या थियो ।

बस्नेतका आफन्तले अस्पताल पुगेर सोधपुछ गर्दा उनीहरुले मृत्युको कारणबारे चित्त बुझ्दो जवाफ पाएनन् । प्रशासनले पनि स्पष्ट कारण बताएन । बरु प्रहरी वृत्त, थिमि पुग्दा प्रहरीले दर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । त्यसपछि उनीहरुले बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै नारावाजी गरेका थिए ।

कारागार बाहिर आफन्त र कारागारभित्र कैदीबन्दीले प्रदर्शन थालेपछि आइतबार पनि बाल सुधार गृहमा स्थिति तनावग्रस्त भएको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार, पीडितले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

त्यसअनुसार पीडितसँग छलफल गरेर भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिमा प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत सदस्य थिए ।

समिति बनेपछि बाहिरको प्रदर्शन केही मत्थर भएको थियो । परिवारले अनुसन्धानका लागि जाहेरी दिने सहमति समेत भएको प्रमुख जिल्ला अधिकारी रिजाल बताउँछन् । तर, सोमबार यो समाचार तयार पार्दासम्म जाहेरी परेको छैन । बरु कारागारभित्र तोडफोड र प्रदर्शन जारी रह्यो ।

त्यसक्रममा सुधार गृहको पछाडिको ढोका तोडेर डेढ सयभन्दा बढी कैदीबन्दी भागेको प्रमुख जिल्ला अधिकारी रिजाल बताउँछन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, सुधार गृहबाट भागेका मध्ये ८७ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

 

प्रकाशित : 21 August, 2023

प्रतिक्रिया दिनुहोस्