बाढी पहिरोका कारण सात राजमार्गका ४९ वटा सडक प्रभावित

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, बाढी पहिरोका कारण सात राजमार्गका विभिन्न खण्ड अवरुद्ध छन् । यस्तै, ४९ वटा सडक प्रभावित भएका छन् ।

 

सडक विभागका अनुसार तमोर करिडोर अन्तर्गतको चतरा मूलघाट माझीटार अमरापुरडाँडा गणेशचोक, कोशी राजमार्गको रानी विराटनगर इटहरी धरान धनकुटा हिले तथा लेघुवाघाट, तुम्लिङटार खाँदबारी नुम किमाथाङ्का सडक खण्ड बन्द छ ।

यस्तै, बालाजु-त्रिशूली-धुञ्चे-स्याफ्रुबेसी, नाग्मा-जुम्ला सडक, डुम्रे-बेशीसहर र सिद्धार्थ राजमार्गको बेलहिया-भैरहवा-बुटवल-बर्तुङ-राम्दी-स्याङ्जा-पोखरा सडक खण्ड बन्द रहेको विभागले जनाएको छ । पहिरोका कारण बिहान केहीबेर अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक अहिले भने दुईतर्फी नै सञ्चालन भइरहेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक बिहान सात बजेतिर पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो । त्यसपछि पहिरो पन्छाएर एकतर्फी सडक खुलाइ गाडी पास गराइएको थियो । यो सडक पहिरोका कारण पटक-पटक बन्द हुँदै आएको छ । प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै आएको छ ।

 

प्रकाशित : 24 August, 2023

प्रतिक्रिया दिनुहोस्