रुकुमको मुसिकोटमा जीप दुर्घटना, घटनास्थलमै सात जनाको मृत्यु

सहयात्रा टिभी

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा जीप दुर्घटना हुँदा नवदम्पतीसहित सात जनाको घटनास्थलमै मृत्यु भएको छ । स्कारपियो जीप दुर्घटनामा अरु तीन जना गम्भीर घाईते भएका छन् ।

रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँस्थित सडकबाट करीब २०० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका ६ का नविन श्रेष्ठ, उनकी श्रीमती अनीता प्रधान, मुसिकोट नगरपालिका १ का सुदन श्रेष्ठ, उनका बुवा शेरबहादुर श्रेष्ठ, जनक शाह, मुसिकोट नगरपालिका १ की सूर्यखा शाह र त्रिवेणी गाउँपालिका १ की यमुना मल्ल छन् । मृतक नविन श्रेष्ठ प्रहरी निरीक्षकसमेत हुन् । मृतक श्रेष्ठ विहीबार मात्र नवदुलही घरमा भित्र्याएर काममा फर्किदै थिए ।

मृत्यु हुने सबै नविन श्रेष्ठका आफन्त रहेको र उनीहरु पनि श्रेष्ठको विवाहमा गएर दुलाहा दुलहीसँगै मुसिकोट फर्किदै थिए । घाईते हुनेमा टेकबहादुर खत्री, प्रेम थापा र अर्का एकजना छन् ।

घाईतेको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल सल्ले लगेका थिए ।

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्