ललितानिवास प्रकरण भन्दा गम्भीर टीकापुर जग्गा प्रकरण आउदै

सहयात्रा टिभी

काठमाडौँ । भदौ ८, ललितानिवास प्रकण जस्तै टीकापुर जग्गा प्रकरणमा पनि नेता, आफन्त र दलका कार्यकर्ता मुछिए सुचना आउदै गरेको अख्तियार दुरुपयोग अनुसन्घान आयोगले निष्कर्र्स निकालेको जानकारी प्राप्त भएको छ ।

 

ललितानिवास प्रकरण भन्दा गम्भीर टीकापुर जग्गा प्रकरणमा  कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको झण्डै ३० बिघा (६०० कट्ठा) सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारी भनिने राजनीतिक कार्यकर्ताले नेता, आफन्त र दलका कार्यकर्तालाई वितरण गरेको भेटिएको छ ।

पञ्चायतकालमा टीकापुर क्षेत्रको विकास गर्ने असल उद्देश्यले स्थापित टीकापुर विकास समितिका पदाधिकारीले बहुदलीय शासन प्रणाली स्थापना भएयता जग्गा वितरणमा मनपरी गरेको भेटिएको छ ।

लामो समय लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले यो तथ्य देखाएको हो । यद्यपि अख्तियारले प्रतिवेदन सार्वजनिक गरिनसकेकोले यसको विस्तृत विवरण बाहिर आउन बाँकी नै छ ।

अख्तियारको सुदूरपश्चिम कार्यालय स्रोतका अनुसार, हालसम्म करिब ६०० जनासँग बयान लिएर प्रमाण जुटाउने काम भइरहेको छ । अख्तियारका एक जना अधिकारीका भनाइमा ‘सम्भवतः अहिलेसम्मको सबभन्दा ठूलो जग्गा हिनामिनाको यो घटना ललितानिवास प्रकरण भन्दा गम्भीर छ ।’

कैलालीको टीकापुर नगर विकास समितिको कार्यालयमा ८ वैशाख २०५९ मा माओवादीले आगजनी गरे । त्यो आगजनीका कारण त्यसअघि समितिसँग जग्गा लिएका व्यक्तिहरूको अभिलेख र अन्य कागजपत्रहरू जलेर नष्ट भए । त्यसपछि समितिले २७ वैशाख २०५९ मा एउटा सार्वजनिक सूचना निकाल्यो ।

गोरखापत्र दैनिकमा प्रकाशित सो सूचनामा ‘यसअघि जग्गा लिएका व्यक्तिहरूलाई आफूसँग भएका प्रमाणहरू सहित ३५ दिनभित्र समितिमा निवेदन दिन’ आग्रह गरिएको थियो । त्यसबेला मुलुकमा माओवादी द्वन्द्व चरम अवस्थामा थियो । ढुक्कले हिंडडुल गर्न सक्ने अवस्था पनि थिएन । पत्रपत्रिकाहरूको वितरण शहरी क्षेत्रमा सीमित थियो । सूचना र समाचारको मुख्य स्रोत रेडियो थियो ।

यो परिस्थितिका कारण टीकापुर नगर विकास समितिले जारी गरेको सूचना धेरै मानिसले थाहासम्म पनि पाएनन् । सूचना पाएकाहरूले पनि प्रतिकूल परिस्थितिका कारण आफूसँग भएका प्रमाण सहित ३५ दिनभित्र समितिको कार्यालयमा पुगेर निवेदन दिन सकेनन् ।

यसरी कार्यालयमा रहेको अभिलेख जलेका व्यक्तिहरूले आफ्नो प्रमाण समितिमा पेश गर्न सकेनन् । यस्ता कागजपत्र नभएका वा हराएकाहरूले हराएको भन्ने निवेदन पनि दिन सकेनन् ।

त्यो शंकास्पद आगजनीबाट समितिमा भएका अभिलेख लगायत कागजपत्रहरू नष्ट भएको सूचना र त्यसको महत्व थाहा पाउने गिरोहले यसलाई नयाँ अवसरको रूपमा उपयोग गर्यो । अनि आफन्त, नेता, कार्यकर्ता र पहुँचवालालाई घडेरी बाँड्ने उद्देश्यले नक्कली कागजात तयार पार्न थालियो । टीकापुर क्षेत्रको बृहत् विकासका लागि परिकल्पना गरेर गठन भएको टीकापुर नगर विकास समितिका पदाधिकारी र बिचौलियाको मिलेमतोमा जग्गा हिनामिनाको अभियान नै सुरु भयो ।

नेपाली कांग्रेसबाट समितिमा प्रतिनिधि रहेका बमबहादुर बमले दाजु ठक्कर बम, पत्नी कमलादेवी बमको नाममा घडेरी लिएका छन् भने, एमालेका प्रतिनिधि श्याम खत्रीले पत्नी सुला रावल, श्रीमतीकी बहिनी रामपरी रावलको नाममा घडेरी बाँडेको उल्लेख छ । राष्ट्रिय जनमोर्चाका प्रतिनिधि तिलक परियारले पनि श्रीमती ईश्वरी परियारको नाममा जग्गा लिएको त्यो सूचीमा उल्लेख छ ।

तत्कालीन सदस्य सचिव गणेश रावलले बुवा कमानसिंह रावल, आमा देवु रावल, नातेदारहरू दलबहादुर बिष्ट, हर्कबहादुर बिष्ट, प्रेमबहादुर स्वाँर, सत्यदेवी स्वाँर, मेदनी रावल, मानबहादुर रावलको नाममा घडेरी लिएको विवरणबाट देखिन्छ । त्यस्तै समितिका पूर्व अध्यक्ष गंगाबहादुर कुँवरले छोरा केशरबहादुर कुँवर, बुहारी लक्ष्मीदेवी कुँवर, पत्नी डम्बरदेवी कुँवर, बुहारी दिपादेवी कुँवरका नाममा घडेरी लिएको विवरणबाट देखिन्छ ।

घडेरी लिनेको सूचीमा नापी कार्यालय टीकापुरका कर्मचारी दशरथ मण्डल र उनका आफन्त राजकुमारी मण्डल, पूर्व योजना प्रमुख बलबहादुर कठायतका आफन्त भगवती कठायत, चम्फा कठायत, भारती देवी कठायतको नाम पनि छ ।

एक अनुसन्धान अधिकारीका भनाइमा, घडेरी घोटाला प्रकरणमा सबैजसो अध्यक्ष मुछिएका छन् । तिनमा पनि मुख्य रूपमा २०६५ साल जेठपछि नगर विकास समितिको अध्यक्ष पदमा नियुक्त भएकाहरू नक्कली काममा संलग्न भएको देखिन्छ ।

एक जना अनुसन्धान अधिकारीका भनाइमा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला २० जेठ २०६५ मा नियुक्त नेत्रप्रसाद जोशीको पालामा यो काम धेरै भएको भेटिएको छ । यसपछि झलनाथ खनाल र खिलराज रेग्मी प्रधानमन्त्री भएको बेला २२ चैत २०६७ मा एक पटक र १७ वैशाख २०६९ मा अर्को पटक नियुक्त ललित ताम्राकारको कार्यकालमा पनि यो कामले निरन्तरता पाएको थियो ।

नक्कली कागजात र जालसाजीपूर्ण निर्णय प्रकरणमा जोडिने अध्यक्षहरूमा नेत्रप्रसाद जोशी, ललित ताम्राकार, सदस्यहरू बमबहादुर बम, गणेशसिंह रावल लगायत छन् । यसैगरी स्थानीय एमाले नेता श्याम खत्री, माओवादी नेता खड्क शाह लगायतका नेताहरूको पनि यसमा संलग्नता रहेको अनुसन्धान अधिकारीको दाबी छ ।

हामीले यो विवादमा नाम जोडिएका टीकापुर विकास समितिका पूर्व अध्यक्षहरूसँग सम्पर्क गरेका छौं । केहीले आरोप अस्वीकार गरेका छन्, केहीले स्वीकारेका र केहीले परिस्थिति कस्तो थियो भनेर व्याख्यात्मक टिप्पणी सहित आफ्नो बचाउ गरेका छन् ।

पूर्व अध्यक्ष फकिरसिंह कडायतले आफूले कानुनले दिएको अधिकार अनुसार नै काम गरेको दाबी गरे । उनले भने, ‘मैले कुनै बदमासी गरेको छैन ।’

जग्गा अनियमिततामा धेरै नाम जोडिएका मध्ये एक पूर्व अध्यक्ष ललित ताम्राकारले आगजनी पछि समितिमा परेका निवेदनहरू छानबिन गर्न समितिका सदस्य प्रेम बिक चट्टानको संयोजकत्वमा पार्टी प्रतिनिधि, समितिका कर्मचारी रहेको उपसमिति गठन गरेको सोही उपसमितिले गरेको सिफारिसको आधारमा समितिको बैठकको निर्णयबाट हकदाबी कायम गरिदिने काम गरेको बताए । उनले भने, ‘त्यसमा कुनै बदमासी भए जस्तो लाग्दैन ।’

यो विवादमा सबभन्दा धेरै नाम जोडिएका पूर्व अध्यक्ष नेत्र जोशी चाहिं हाम्रो सम्पर्कमा आउन चाहेनन् । एक हप्तासम्म निरन्तर सम्पर्क गर्दा समेत उपलब्ध नभएपछि हामीले उनलाई लिखित प्रश्न पठाएका थियौं । उनले त्यसमा पनि कुनै प्रतिक्रिया जनाएनन् ।

घडेरी वितरण विवादमा जोडिएका स्थानीय एमाले नेता श्याम खत्रीले आफूले पार्टी प्रतिनिधिको रूपमा समितिमा प्रतिनिधित्व गरेको दाबी गरे । उनले भने, द्वन्द्वका बेला आगजनी भएर कागजपत्र जलेका कारण जग्गाको नामसारी प्रक्रिया रोकिएको थियो । जनता समस्यामा थिए । रोकिएको काम सुरु गर्नुपर्छ भनेर हामीले समितिको बैठकमा कुरा उठाएका हौं ।’

तर, तपाईंले श्रीमतीका नाममा समितिबाट जग्गा लिनुभएको छ नि भन्ने प्रश्नमा खत्रीले भने, ‘मेरी श्रीमतीको नाममा पनि समितिबाट लिएको जग्गा छ । त्यस सम्बन्धमा अख्तियारले अनुसन्धान गरिरहेको छ । जे भएको हो त्यो अख्तियारको छानबिनबाट देखिएला ।’

माओवादीका स्थानीय नेता एवं टीकापुर नगरपालिकाका उपमेयर खडकबहादुर शाह आफूले माओवादी पार्टीबाट समितिमा प्रतिनिधित्व गरेको बताउँछन् । उनी भन्छन्, ‘त्यतिबेला जग्गा घोटाला भएको हो–होइन भन्ने कुरा समितिका अध्यक्ष, पदाधिकारी र कर्मचारीहरूलाई थाहा होला । अख्तियारको छानबिनबाट बाहिर आउला ।’

पूर्व अध्यक्ष गंगाबहादुर कुँवरले आफन्त, परिवारका सदस्य र पहुँचवालालाई जग्गा बाँड्यो भन्ने आरोपमा कुनै आधार नभएको बताए । उनले भने ‘समितिको उद्देश्य नै धेरैभन्दा धेरै जग्गा बिक्री गरेर शहर बसाउने थियो । घर नबनी शहर बन्दैनथ्यो । घर बनाउन जग्गा बेच्नै पथ्र्यो । त्यसका लागि हामीले जग्गा कसले किनिदेला भनेर खोज्थ्यौं ।’

लालटिन बालेर जग्गा बाँडेको भनेर आफूलाई लगाइएको आरोपमा कुनै सत्यता नभएको कुँवरले बताए । उनले भने, ‘लालटिन बालेर राति जग्गा बाँड्यो भनेर मेरो बारेमा नकारात्मक हल्ला फैलाए । त्यसबेला लालटिन होइन ‘पेट्रोल म्याक्स’ बालेर काम गरेको हो । बिजुली बत्ती थिएन । दिनभरि फिल्डको काममै व्यस्त हुन्थ्यौं । छिटो काम सक्न भनेर साँझ ६ देखि ८/९ बजेसम्म कर्मचारीहरूलाई ओभर टाइम भत्ता दिएर काम गरेका थियौं ।’

तर, टीकापुर जग्गा घोटाला प्रकरणको पछिल्लो छानबिनमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका पूर्व प्रमुख रामबहादुर कुरुङवाङ भन्छन्, ‘टीकापुर नगर विकास समितिमा २०४८ सालपछि राजनीतिक नियुक्ति पाएका पदाधिकारी, कर्मचारी, पार्टीका प्रतिनिधि र पहुँचवालाको मिलेमतोमा विधि र प्रक्रिया मिचेर जग्गा बाँडेको देखिन्छ ।’

उनका भनाइमा, २०६५ सालमा नगर विकास समिति गठन भएपछि नियुक्त भएका नेत्र जोशी र ललित ताम्राकारको पालामा २०२८ सालदेखि २०६४ सालसम्मकै अवधिमा भएको निर्णयबाट जग्गा बाँडिएको भन्ने नक्कली कागजपत्र बनाएर अधिकांश पदाधिकारी, कर्मचारी, पार्टी प्रतिनिधि र पहुँचवालाको मिलेमतोमा आफन्त, कार्यकर्ता र पहँचवालाहरूलाई जग्गा बाँडेको देखिन्छ ।

कुरुङवाङ भन्छन्, ‘टीकापुर जग्गा घोटाला प्रकरण हालसम्म सार्वजनिक भएका जग्गा घोटालामध्ये जग्गाको परिमाण र त्यसमा संलग्न व्यक्तिहरूको संख्याले नेपालकै सबैभन्दा ठूलो जग्गा घोटाला काण्ड हुनसक्छ ।’

टीकापुर जग्गा घोटालाको राजनीतिक ‘कनेक्सन’

नेत्रप्रसाद जोशी : टीकापुर नगर विकास समितिका पूर्व अध्यक्ष हुन्, जोशी । सुरुमा नेपाली कांग्रेस निकट थिए, जोशी । विजय गच्छदारले कांग्रेस पार्टी छाडेर फोरम लोकतान्त्रिक गठन गरेपछि गच्छदारसँगै उनी फोरममा लागे । गच्छदारसँग सम्बन्ध बढाएर टीकापुर नगर विकास समितिको अध्यक्ष बने । त्यसपछि माओवादीमा डा.बाबुराम भट्टराई नजिक भए । हाल उनी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य छन् ।

ललित ताम्राकार: ताम्राकार टीकापुर नगर विकास समितिका पूर्व अध्यक्ष हुन् । ताम्राकार सुरुमा माओवादी पार्टीमा आबद्ध थिए । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगको निकट सम्बन्ध भएका कारण टीकापुर विकास समितिको अध्यक्ष बनेका थिए । पछिल्ला दिनमा ताम्राकार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य छन् ।

गंगाबहादुर कुँवर : कुँवर टीकापुर नगर विकास समितिका पूर्व अध्यक्ष हुन् । उनी नेपाली कांग्रेसको तर्फबाट कैलालीबाट निर्वाचित पूर्व सांसद पनि हुन् । कांग्रेस सत्तामा हुँदा उनी दुई पटक विकास समितिको अध्यक्ष बनेका थिए ।

श्याम खत्री : खत्री एमालेका स्थानीय नेता हुन् । खत्रीले समितिमा एमालेको प्रतिनिधि भएर काम गरेका थिए । खत्री गत निर्वाचनमा एमालेबाट टीकापुर नगरपालिकाको मेयर पदमा उम्मेदवार थिए, पराजित भए ।

खडकबहादुर शाह : माओवादीका स्थानीय नेता खडकबहादुर शाह टीकापुर नगरपालिकाका उपमेयर हुन् । उनले समितिमा माओवादी पार्टीको प्रतिनिधित्व गरेका थिए ।

 

प्रकाशित : 25 August, 2023

प्रतिक्रिया दिनुहोस्