कोशीमा हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेश निष्क्रिय

सहयात्रा टिभी

काठमाडौँ । भदौ १०, कोशी प्रदेश बजेट शून्यताको अवस्थामा पुगेको छ । तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेश आइतबार निष्क्रिय भएपछि प्रदेश बजेट शून्यतामा गएको हो ।

 

तत्कालिन सत्ता साझेदार दल माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसदको बजेट अधिवेशन अन्त्य गरेर बजेट अध्यादेश ल्याएका थिए । त्यसपछि विश्वासको मत पाउन नसकेर उनी पदमुक्त भए ।

उद्धव थापा नेतृत्वको पछिल्लो सरकारले विश्वासको मत लिँदा सभाध्यक्षको मत प्रयोग गर्नु असंवैधानिक भन्दै एमालेले दिएको रिटमा सर्वोच्चले सुनुवाइ गर्दै सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न अन्तरिम आदेश दिएको छ ।

सोही कारण सरकारलाई अर्को बजेट ल्याउन समस्या परेको हो । कार्की मुख्यमन्त्री हुँदा ल्याएको बजेट अध्यादेश १४ असारमा प्रदेशसभा टेबुल भएको थियो । ६० दिनभित्र अर्थात आइतबारसम्म प्रतिस्थापन विधेयक नल्याएका कारण अध्यादेश निष्क्रिय भएको हो ।

थापा नेतृत्वको सरकारले गत बुधबार प्रदेशसभाको अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन खोजेको थियो । तर अदालतले दीर्घकालीन असरको निर्णय नगर्नू भनेकाले रोकिएको हो ।

सरकारविरुद्धको रिटमा छिटो निर्णय दिन निवेदन गर्न लागिएको उनले बताए । मन्त्री गौतमका अनुसार उपसभामुखलाई बैठक सञ्चालनका लागि आदेश माग गर्ने पनि तयारी भएको छ ।

 

प्रकाशित : 27 August, 2023

प्रतिक्रिया दिनुहोस्