पर्वको अवसरमा दुई चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

सहयात्रा टिभी

काठमाडौँ । भदौ १५, ‘गाईजात्रा’ सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वको अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् ।

शुक्रवार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् ।

राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गरेकी हुन् । यद्यपि चलचित्र पूर्णरूपमा राजनीतिमै केन्द्रित भने नरहेको निर्देशक चौलागाईंले बताइन् ।

चलचित्रमा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतले अभिनय गरेका छन् ।

बिहीवारदेखि नै प्रदर्शन गरिएको अर्को चलचित्र ‘गणपति’ लाई सविन अधिकारीले निर्देशन गरेका हुन् । उनकै लेखन रहेको यो चलचित्रमा निःसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

 

 

 

प्रकाशित : 1 September, 2023

प्रतिक्रिया दिनुहोस्