मेयर बालेनको धम्कीपूर्ण अभिव्यक्तिलाई लिएर विरोध र जिज्ञासा

काठमाडौं । भदौ १७, काठमाडौंका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना , विरोध र जिज्ञासा गरिरहेका छन् ।
कतिपयले उनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् भने कतिपयले उनी दम्भी भनेर आलोचना गरिरहेका छन् ।
मेयर साहले गएराति सामाजिक सन्जाल फेसबुकमा सरकारलाई ‘चोर’ भन्दै सिंहदरबारमा ‘आगो लगाइदिन्छु’ भनेर धम्कीयुक्त स्टाटस पोष्ट गरेका थिए ।
उनले लेखेका छन्, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ बालेनको यो पोष्टमा ३ लाख बढी लाइक, ९९ हजार कमेन्ट र ३८ हजार सेयर भएको देखिन्छ ।
लगत्तै उनको स्टाटसको स्क्रिनसट भाइरल भएको थियो । केहीले दम्भ देखिएको भनेर आलोचना गरेका छन् भने केहीले आक्रोशपूर्ण अभिव्यक्ति दिनुको कारणबारे जिज्ञासा राखेका छन् । तर यसको कारणबारे बालेन आफैंले केही बताएका छैनन् ।
सुलभ कार्कीले ट्वीटरमा मेयर बालेनको अभिव्यक्तिको विरोध गर्दै लोकतान्त्रिक समाजमा हिंसा स्वीकार गर्न नसकिने बताएका छन् । उनले लेखेका छन्, ‘यो अस्वीकार्य भनाइ हो ।
मेयर बालेन र्यापर मात्र नभइ नेपालको शक्तिशाली मेयर हुन् । उनले केही लेख्नुअघि सोच्नुपर्छ । साथै कुनै पनि प्रकारको हिंसालाई लोकतान्त्रिक समाजमा स्वीकार गर्न सकिँदैन ।’
यसअघि काठमाडौं महानगरको मेयरकी उम्मेदवारसमेत बनेकी नेतृ रञ्जु दर्शनाले मेयर साहको आक्रोशको कारणबारे फेसबुकमा जिज्ञासा राखेकी छन् । उनले लेखेकी छन्, ‘‘देशमा जलाउनेहरु धेरै पटक आए र गए पनि । तिनीहरुको त बरु जिनतिन मुद्दा थियो । यो आक्रोशको पछाडि तपाईंको मुद्दा के हो रु’
यसैगरी पूर्वमन्त्री लोकेन्द्र विष्टमगरले पनि बालेनलाई प्रश्न गर्दै फेसबुकमा लेखेका छन्, ‘मेयर साप १ शनिबार सवार सरकारी गाडी ट्राफिकले रोक्दा सिंहदरबारमा आगो र सरकार चोर किन र कसरी ?’
मेयर बालेन साहकी पत्नी सवार सरकारी नम्बर प्लेटको गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेर छाडेलगत्तै मेयर साहको आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक भएको थियो ।
मेयर साहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई टेलिफोन गरी गाडी रोकिदिएको भन्दै आक्रोश पोखेका थिए । मेयर साहले ‘महानगरको गाडी चौबीसै घण्टा ड्युटीमा हुन्छ ।
किन रोकेको ?’ भन्दै आक्रोश पोखेको स्रोतले बतायो । प्रजिअ बस्नेतले भने यसबारे के भएको रहेछ म बुझ्छु भन्दै फोन राखेका थिए । प्रजिअले बस्नेतले ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेलसँग घटनाबारे बुझेका थिए । साथै प्रहरी युनिटले गृह मन्त्रीको सचिवालयमा समेत घटनाबारे जानकारी गराएको थियो ।
प्रजिअ बस्नेतले शान्ति सुव्यवस्था कायम राख्न चेकजाँच गर्ने, सोधपुछ गर्ने सामान्य प्रक्रिया भएको बताए । त्यही गर्दा मेयर बालेन साहको धम्कीपूर्ण अभिव्यक्तिले सुरक्षाकर्मीलाई हतोत्साही बनाएको उनले बताए ।