होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लाग्दा एक जना घाइते

काठमाडौं । भदौ १७, ललितपुर–३, पुल्चोकस्थित होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार अपराह्न साढे २ बजे होटलको छतमा रहेको स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते भएका हुन् ।
श्रीमती र छोरीसहित शाक्य होटलमा गएका थिए । आधा घन्टा परिवार पौडिइरहेका बेला चस्मामा बाफ जम्यो भनेर आमा, छोरी निस्किएका बेला उनलाई करेन्ट लागेको शाक्यको परिवारले जनाएको छ ।
गम्भीर घाइते शाक्यकी बहिनी सुस्मिताका अनुसार, हिटेड स्वीमिङ पुल भएकाले त्यहाँ बिजुली जडान गरिएको पाइएको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख सिद्धिविक्रम शाहका अनुसार, प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्का गरेको छ ।
गम्भीर घाइते भएका शाक्यको परिवारका सदस्यहरुले भने चिकित्सकले ‘इलेक्ट्रिक सक’ लागेको देखिएको बताएको जनाएका छन् ।
होटल सञ्चालक रोमी अर्याल देवकोटाले भने स्वीमिङ पुलमा कुनै लिकेज वा करेन्टको फ्लो नभएको दाबी गरिन् ।