विद्यालयमा गणित शिक्षक माग गर्दै विद्यार्थीले लगाए ताला
काठमाडौं । भदनै १८, धादिङको सिद्धलेक गाउँपालिकाको वडा-३ मैदानमा रहेको पञ्चमुखी विद्यालयमा गणित विषय शिक्षकको माग गर्दै विद्यार्थीले ताला लगाएका छन् ।
निम्न माध्यामिक तहको राहत दरबन्दीमा कार्यरत गणित शिक्षक रमेश नेपाललाई गाउँपालिकाले वडा-२ ठाँटीमा रहेको सिद्धेश्वर माविमा सरुवा गरेपछि विद्यालय गणित विषय शिक्षकविहीन बनेको हो ।
साउन २५ गते बसेको गाउँ शिक्षा समितिको बैठकले शिक्षक नेपाल भदौ १ गतेदेखि हाजिर हुने गरी सरुवा गरे पनि शिक्षक रमेश नेपाल साउन ३१ गतेदेखि विद्यालय नआएको विद्यार्थी बताउँछन् ।
विद्यार्थीले गणित विषय शिक्षकको माग गर्दै भदौ १३ गते विद्यालयको मुलगेटमा ताला लगाएपछि पाँचदिन देखि विद्यालयको शैक्षिक तथा प्रशासनिक काम ठप्प भएको छ ।
विद्यालयको सबै गतिविधि नै ठप्प भएपछि विद्यालयले पालिकालाई आवश्यक सहजीकरण गर्न पत्र पठाएको छ । पालिकाले राहत करार दरबन्दी नै नरहने गरी अर्को विद्यालयमा सारेर विद्यार्थीको पढ्न पाउने अधिकार बन्चित गर्न खोजेको भन्दै अभिभावकले ३ नम्बर वडा कार्यालयमा भदौ १२ गते ताला लगाएका छन् ।