एमाले लुम्बिनी अध्यक्षमा पाल्पाका कँडेल दुई मतको अन्तरले विजयी

सहयात्रा टिभी

बुटवल । भदाै २०, नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । बुधबार बिहान ५ बजे सम्पन्न मतगणनामा उनले प्यूठानका हरि रिजाललाई २ मतले हराउँदै विजयी भएका हुन् ।

 


निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीका अनसार कँडेलले ४ सय ७९ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै रिजालले ४ सय ७७ मत ल्याएका छन् । मंगलबार दिउँसो भएको निर्वाचनमा प्रदेशका १ हजार ५ प्रतिनिधि मध्यै ९ सय ६५ जनाले मतदान गरेका थिए ।

अध्यक्ष कँडेलसँगै उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, पुरुष उपसचिवमा रोल्पाका पूर्ण बुढामगर र महिला उपसचिवमा बर्दियाकी लिला राना मगर निर्वाचित भएकी छन् । सचिव पदमा यसअघि नै दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए । निर्वाचितमध्ये पुरुष उपसचिवमा निर्वाचित रोल्पाका बुढामगर मात्र रिजाल प्यानका हुन् ।

उपाध्यक्षमा निर्वाचित श्रेष्ठले ४ सय ५५ मत ल्याएर विजयी भएका छन् । उनीसागै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका थिए । बराल रिजाल समूहका हुन् । अन्य दुई जनाले छुट्टै उम्मेदवारी गरेर प्रतिस्पर्धा गरेका थिए । त्यस्तै उपसचिव खुलामा बुढामगर ४ सय १८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँगै बाँकेका दुर्गाप्रसाद थारू चौधरीले ३९३, रोल्पाका उपेन्द्रलाल कामीले १ सय १० मत ल्याएका थिए । चौधरी कंडेल प्यानलबाट निर्वाचन लडेका थिए ।

महिला उपसचिवमा लिला रानामगर ३ सय ५२ मत ल्याएर विजयी भएकी छन् । उनले रिजाल समूहकी वसन्ती अधिकारीलाई १ मतले पराजित गरेकी हुन् । अधिकारीले ३ सय ५१ मत ल्याएकी छन् । त्यस्तै प्यानल बाहिरबाट प्रतिस्पर्धा गरेकी लुम्बिनी प्रदेशकी पूर्व कृषिमन्त्री आरती पौडेलले २ सय २१ मत ल्याएकी छन् ।

यस्तै लेखा समिति अध्यक्षमा कँडेल समूहकै दामोदर घिमिरे विजयी भएका छन् । उनले रिजाल समूहका विष्णुराज बीसीलाई २ सय ७ मत अन्तरले पराजित गरेका हुन् । लेखा समितिको उपाध्यक्षमा बैकुण्ठ महत निर्विरोध निर्वचित भएका थिए । मंगलबार नेकपा एमालेको प्रथम लुम्बिनी अधिवेशनबाट पदाधिकारीमा सचिव आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको थियो । रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्लामा भूगोलबाट प्रतिनिधित्व गर्ने पद र खुल्ला पदहरुमा पनि प्रतिस्पर्धा भएको थियो ।

एमालेको २ सय ५ सदस्यीय लुम्बिनी प्रदेश कमिटीमा निर्वाचित बहुमत सदस्य पनि कँडेल समूहकै रहेका छन् । निर्वाचित भएपछि कँडेलले आफू पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट निर्वाचित भएकोले अब पार्टीमा अर्को कुनै समूह नरहेको बताए । ‘हाम्रो समूह र प्यानल भन्ने कुनै केही छैन,’ उनले भने, ‘जो जसरी निर्वाचित भएपनि सबै एमाले हौं, पार्टीमा कुनै त्यस्तो छुट्टै समूह रहन्न ।’ उनले प्राविधिक रूपमा आफू निर्वाचित भए पनि दुवै उम्मेदवारको जित भएको बताए ।

प्रकाशित : 6 September, 2023

प्रतिक्रिया दिनुहोस्