केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जन्माष्टमीको अवसर पारेर ‘मट्का फुटाउने’ प्रतियोगिता

सहयात्रा टिभी

काठमाडौं । भदौ २०, श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौँको सामाखुशीमा ‘मट्का फुटाउने’प्रतियोगिता आयोजना गरिएको छ ।

 

सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष झैँ यसवर्ष पनि जन्माष्टमीको अवसरमा आज काठमाडौँ महानगरपालिका-२६ कपुरधारास्थित चिल्ड्रेन पार्कमा प्रतियोगिता आयोजना गरिएको हो ।

विसं २०५६ देखि हरेक वर्ष मनाउँदै आइएको उक्त प्रतियोगितामा निलो रिबन लगाउने टोली प्रथम भएको क्लबका अध्यक्ष दीपेन्द्र केसीले बताए । उनका अनुसार प्रतियोगितामा रातो र निलो रिबन लगाउने दुई समूहको सहभागिता थियो ।

“पार्क नजिकै सडकको माथि डोरीमा माटोको मट्का दही राखेर झुण्ड्याइने र प्रतियोगीले उक्त मट्का फुटाउने चलन रहँदै आएको छ’, केसीले भने । उनका अनुसार मट्का निकै माथि डोरीमा झुण्ड्याइने भएकाले मानिसमाथि मानिस चढेर फुटाउने गरिन्छ ।

यसवर्ष ११ पटकको प्रयासपछि उक्त मट्का फुटाइएको हो । प्रतियोगिताका विजेता टोलीले रू २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उक्त रकम क्लबका अध्यक्ष केसीले प्रथम विजेता टोलीलाई हस्तान्तरण गरे ।

आजै साना बालबालिकाका लागि घैंटो फुटाइ कार्यक्रमसमेत चिल्ड्रेन पार्कमै आयोजना गरिएको थियो । घैँटो फुटाइ कार्यक्रममा विजेता बालबालिकालाई जनही रू एक हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित : 6 September, 2023

प्रतिक्रिया दिनुहोस्