सुदूरपश्चिममा यस वर्ष दुई पटक गौरा पर्व मनाइँदै

सहयात्रा टिभी

काठमाडौँ । भदौ २१, सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासकासाथ मनाइँदै छ । यस वर्ष तिथि परिवर्तनका कारण दुई पटक गौरा मनाइँदै छ ।

यही भदौ ७ गते गौरा पर्व नमनाउनेहरुले आज धुमधामकासाथ गौरा मनाउँदै छन् । भाद्रशुक्ल पक्ष पञ्चमीदेखि शुरु हुने यो पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) राखेर शुरु हुन्छ । पहिलो दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ ।

बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौ महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत्रुपमा शुरु हुने गर्छ ।

भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ । गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तितेपाती र अपामार्ग र कतै तिलको बिरुवा पनि राखेर देविको आकार बनाउने गरिन्छ ।

देविलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ ।

प्रकाशित : 7 September, 2023

प्रतिक्रिया दिनुहोस्