सरकारी भन्दा निजी चिज उद्योग अब्बल

सहयात्रा टिभी

इलाम । लगानी, जनशक्ति, क्षमता र व्यवस्थापनको दृष्टिकोणले सरकारी लगानीका उद्योगहरु सञ्चालनमा पक्कै सहजता हुन्छ ।
तर, इलामका चिज उद्योगहरुको हकमा भने सरकारी लगानीका उद्योगहरुलाई निजी उद्योगहरुले उछिनेका छन् ।

इलामका निजी चिज उद्योगहरू क्षमता, व्यवस्थापन, किसानलाई दिने सेवा–सुविधा सबैमा सरकारी उद्योगभन्दा अगाडि छन् । चिज उद्योगले खपत गर्ने दूधको परिमाण र उत्पादन पनि निजी उद्योगकै बढी देखिन्छ । इलामका दुई दर्जन बढी निजी चिज उद्योग अहिले दैनिक १२ हजार लिटरसम्म दूध खपत भइरहेको छ । दुग्ध विकास संस्थानअन्तर्गतका केन्द्रमा भने दैनिक २ हजार ६ सय लिटर हाराहारी दूध प्रशोधन हुन्छ । जिल्ला पशुसेवा कार्यालयको तथ्याङ्कअनुसार संस्थान अन्तर्गतका कारखानाले वार्षिक आठ करोड रुपैयाँ हाराहारी मूल्यको घ्यू–छुर्पी उत्पादन गर्छ । निजी कारखानाहरूले १८ करोड रुपैयाँ बराबरको कारोबार गर्ने हिमालय चिज उत्पादक संघका अध्यक्ष रिञ्जी शेपाले जानकारी दिए ।

पुख्र्यौली घर दोलखा रिञ्जी शेर्पाले ०२९ मा एसएलसी गरेलगत्तै चिज बनाउने तालिम लिए । त्यसपछि उनले दुग्ध विकास संस्थानमा काम गरे । त्यसपछि इलामको पशुपतिनगरस्थित प्रशान्त डेरीमा चिज मेकरका रूपमा काम शुरु गरे । शेर्पा आफैंले व्यवसाय गर्ने मनसायले ०६७ मा इलामको सुलुबुङस्थित देउराली बजारमा चिज उद्योग खोले । व्यवस्थित भवन, आधुनिक मेशिन र सफाचट्ट उद्योगमा पुग्ने जोकोहीले निजी उद्योग सञ्चालकहरुको प्रगति सहजै देख्न सक्छन् ।

नजिकै रहेको दुग्ध विकास संस्थानको चिज उद्योग वर्षौदेखि भाडाको काठेघरमा चलिरहेको छ । उद्योगमा मुस्किलले साढे तीन सय लिटरसम्म दूध संकलन हुँदा शेर्पाको उद्योगमा एक हजार तीन सय लिटरभन्दा धेरै दूध संकलन भइरहेको छ । ‘किसानहरुले हामीलाई पत्याउनु भएको छ’–रिञ्जी रौसिंदै भन्छन्–‘हामी केहि गर्न खोज्नेलाई राज्यले नदेखे पनि हामी आफ्नै बुत्ताले वर्षमा करोडौं रुपैयाँ किसानको हातसम्म पु¥याईरहेका छौं ।’

बजारमा प्रतिलिटर ३५ रुपैंयाँमा दूध किनबेच हुने भए पनि आफूले प्रतिलिटर ४३ देखि ४९ रुपैयाँसम्म दूधको मूल्य दिइरहेको शेर्पाले सुनाए । संस्थानअन्तर्गत माइपातालको चिज उद्योगले ३८ रुपैयाँ ९१ पैसा दिने गरेको किसान बताउँछन् । संस्थानका लागि चिज बनाउन ३.२ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको दूध चाहिन्छ । संस्थानको मापदण्डका कारण पनि दूध कम आएको हुन सक्ने माइपातलस्थित उद्योगका प्रमुख मिश्रिलाल चौधरीले बताए ।

पशुपतिनगरमा चिज उद्योग चलाउउँदै आएका तुलुकामी तामाङ जिल्लाकै उत्कृष्ट चिज उद्योगीमा गनिन्छन् । रसुवाबाट आएका तामाङले ०६६ सालबाट उद्योग चलाइरहेका छन् । ‘संस्थानले ‘क्वालिटी टाइट’ गरेर दूध फाल्नुपर्ने अवस्थामा पु¥याउने गरेको मर्का बुझेर आफैले कारखाना खोल्ने सोंच बनाएको उनले सुनाए । तामाङ्गले भने–‘पहिला संस्थानले दूध नकिनी दिंदा गाई बस्तुलाई नै दूध खुवाउनु पथ्र्यो, अहिले निजी उद्योगहरु बढेपछि किसानले सडकमा दूध पोख्नु परेको छैन ।’ राष्ट्रपतिबाट उत्कृष्ट कृषक पुरस्कार समेत पाइसकेका तामाङ्गको आफ्नै गाई फार्म पनि छ । उनले त्यस क्षेत्रका चार सय किसानबाट दैनिक दूध किन्छन् ।

नजिकै रहेको संस्थानको चिज कारखानामा क्षमताअनुसार दूध संकलन हुन छाडेको छ । विराटनगर दुग्ध विकास आयोजनाको पहुँच नभएका ग्रामीण र विकट क्षेत्रमा पनि चिज उद्योगले किसानलाई दुग्ध व्यवसायी बनाउँदैछ । दुई÷तीन माऊ गाई पालेर पनि परिवारको गर्जो टार्न चिज उद्योगले सघाएको पशुपतिनगरका किसान कृष्ण सुबेदी बताउँछन् । पछिल्लो समय निजी क्षेत्रबाट बाक्लै गरी खुलेका चिज उद्योगका कारण रोजगारीको अवसर पनि उत्तिकै सिर्जना भएको छ । शुरुमा दुग्ध विकास संस्थानअन्तर्गत मात्र चिज उत्पादन हुने गरे पनि अहिले उल्लेख्य संख्यामा निजी उद्योगहरू थपिएका छन् । संस्थानको भन्दा फ्याट र एसएनएफको मात्रा कम भए पनि लिने गरेको र मूल्य पनि धेरै दिने गरेकाले किसानले निजी उद्योगमा नै दूध बिक्री गर्ने क्रम बढेको छ ।

जिल्लाका पशुपतिनगर, सुलुबुङ, राँकेलगायत क्षेत्रमा दैनिक पाँच सयदेखि दुई हजार लिटरसम्म दूध प्रशोधन गर्ने उद्योग छन् । संस्थानअन्तर्गत पशुपतिनगर, माइपातल, नयाँबजार र रक्सेमा चिज उद्योग सञ्चालनमा छन् । निजीस्तरबाट थपिंदै गएका चिज उद्योगले दक्ष जनशक्ति उत्पादनमा पनि सघाएको चिजमेकर सोमबहादुर देउसाली बताउँछन् । उत्पादनको घाटा–नाफा, बजार सबैलाई मिहिन रुपमा अध्ययन गरी दक्ष र सक्रिय जनशक्तिबाट उत्पादन गर्ने गरेका कारण पनि निजी चिज उद्योगहरुको प्रगतिसामु सरकारी लगानीका उद्योग पछि परेको जानकार बताउँछन् । इलाममा वार्षिक १० करोड बढीको चिज उत्पादन हुने गरेको पशुसेवा कार्यालय इलामले जनाएको छ । यो आम्दानी वर्षेनी बढ्दो रहेको कार्यालयले जनाएको छ ।

इलाममा झण्डै दुई सय मेट्रिक टन हाराहारीमा चिज उत्पादन हुने गरेको छ । जिल्लाका किसानले उन्नत जातका गाई–भैसी पाल्न थालेपछि उत्पादन बढेसँगै निजी लगानीमा समेत दूधबाट चिज बनाउने उद्योगहरु गाउँ–गाउँसम्म खुल्न थालेका हुन् । इलामको पशुपतिनगरमा मात्र निजी लगानीका आठ चिज उद्योग सञ्चालनमा छन् । इलामका झण्डै छ हजार किसानले दैनिक दूध बेचेर घर परिवार चलाउने गरेका छन् । इलामको सुलुबुङ्गस्थित देउराली चिज उद्योगका सञ्चालक रिञ्जी शेर्पा आफूले उत्पादन गरेको चिज, काठमाण्डौं, पोखरालगायत तेस्रो मुलुकमा समेत बिकीरहेको बताउँछन् । उनले भने–‘मेरो उद्योगमा चार–पाँच जनालाई रोजगारी समेत दिएको छु ।’ उनले वर्खाको सिजनमा भन्दा अरुबेला उत्पादनको गुणस्तर राम्रो हुने र माग पनि बढ्ने बताए ।

प्रकाशित : 28 November, 2017

प्रतिक्रिया दिनुहोस्