खाद्यान्नमा भएको मूल्य बृद्धि नियन्त्रण गर्न समितिद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । भदौ ३१, प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी, चामल र गहुँलगायतका खाद्यान्नमा भएको मूल्य बृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको समितिको बसेको बैठकमा दैनिक उपभोग्य वस्तुहरु चीनी, चामल लगायतका खाद्यवस्तुहरुको आपूर्ति व्यवस्थापनका सम्बन्धमा छलफल भएको थियो ।
छलफलपछि समितिले चिनी, चामल र गहुँमा भ्याट र भन्सार शुल्कमा शतप्रतिशत छुट सुविधा उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
संसदीय समितिले यस्तो छुट साल्ट ट्रेनिङ कर्पोरेसन र खाद्यान्न ब्यवस्थापन तथा ब्यापार कम्पनी लिमिटेडलाई दिन भनेको हो । भदौ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले यी दुई निकायलाई ५० प्रतिशत भन्सार छुटमा १०र१० हजार मेट्रिक्टन चीनी आयत गर्न स्विकृत गर्ने निर्णय गरेको थियो ।
आइतबार बसेको संसदीय समितिको बैठकले भ्याट र भन्सार छुट सुविधा उपलब्ध गराउन निर्देश गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीका अनुसार चीनीमा ३० प्रतिशत भन्सार लाग्दै आएको छ ।