‘लालपूर्जा दिनेलाई लगाउँछौं भोट’
बुटवल । प्रदेशको राजधानीको सम्भावना बोकेको शहरको रुपमा हेरिएको बुटवलमा सम्भावना नै सम्भावना मात्र छैनन् । यहाँ चुनौति र समस्याहरुको चाङ्ग पनि धेरै छन् । बुटवलमा पछिल्लो समय सुकुम्बासी समस्या चर्को र पेचिलो बनेर उठेको छ । हरेक निर्वाचनहरुमा बुटवलमा सुकुम्बासी तथा अव्यवस्थित वसोबासको समस्या चर्को रुपमा उठ्ने गरेको छ ।
स्थानीय तह निर्वाचनमा जस्तै प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको संघारमा यहि मुद्दा फेरि एक पटक व्यूँतेको छ । बुटवलको सबैभन्दा बढी अव्यवस्थित तथा सुकुम्बासी बसोबास गर्ने वडा नम्बर–११ मा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकले आफूहरुलाई रोजगारी र लालपूर्जा व्यवस्था गरिए मात्र आसन्न निर्वाचनमा भोट हाल्ने अडान कसेका छन् ।
आफूहरुको वडामा मंसिर २१ गते हुने निर्वाचनका लागि घरदैलो गर्न आएका उम्मेद्वारहरुलाई यहाँका बासिन्दाले लालपूर्जा र रोजगारीको ग्यारेन्टी मागेका छन् ।
एमाले उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभाका उम्मेद्वार विष्णु पौडेल र प्रदेशसभा–१ का उम्मेद्वार लीला गिरीसहितको टोलीलाई घरदैलोका क्रममा स्थानीयले आफूहरुको मागप्रति संवेदनशील भई दिन आग्रह समेत गरे । वाम गठबन्धनको घोषणापत्रमा अव्यवस्थित र भूमिहीनलाई उचित बसोबासको व्यवस्था गर्ने विषय उल्लेख भएको र यो निकै सकारात्मक रहेको उल्लेख गर्दै उनीहरुले आफूहरुका समस्या सम्बोधनको ग्यारेन्टी भए वाम गठबन्धनका उम्मेद्वारलाई सघाउन तयार रहेको वचन दिएका छन् ।
‘जसले घरबासको टुंगो लगाई दिन्छ उसैलाई भोट दिने हो’–प्रगतिनगर टोल संस्थाकी शारदा भण्डारीले भनिन् । सुन्दरनगरस्थित सुकुम्बासी टोलकी शकुन्तला परियारले विगतमा आश्वासन मात्रै पाएको भन्दै यस पटक घोषणापत्र हेरेर घरबासको व्यवस्था हुनेमा आशावादी भएको बताइन् । स्थानीयवासीको गुनासो सुनेपछि एमाले उपमहासचिव एवं क्षेत्र नं २ का उम्मेद्वार पौडेलले अव्यवस्थित बसोबासीको व्यवस्थापनको जिम्मा वाम गठबन्धनले लिने बताए । उनले अबको चुनावपछि वाम गठबन्धनले बहुमत ल्याउने र त्यसपछि सुकुम्बासी समस्या हल हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।