देउवालाई कार्यशैली सच्याउन शेखरको आग्रह

सहयात्रा टिभी

काठमाडौँ । असोज ३, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका छन् ।

शेखर–गगन पक्षको बैठकको भोलिपल्ट बुधबार सभापति देउवालाई भेटेका शेखरले अहिलेको शैलीलाई सुधार गर्न आग्रह गरेका हुन् । शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए ।

देउवासँगको भेटमा संस्थापनइतरका नेताहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा मनोमानी भएको बताएका थिए ।

प्रतिउत्तरमा सभापति देउवाले सबैलाई मिलाएर जाने जवाफ दिएका थिए । सभापतिको जवाफ परम्परागत भएको संस्थापनइतरका नेताले बताए ।

संस्थापनइतरका एक नेताका अनुसार महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डेसहित सबै पदाधिकारीले देउवालाई भेट्ने तय भएको थियो । महामन्त्री थापा र सहमहामन्त्री पाण्डे बीपी साहित्य महोत्सवमा व्यस्त भएकाले जान नसकेको संस्थापनइतरका एक नेताले जानकारी दिए ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ४ असोजमा सुरु हुँदैछ । उक्त बैठअघि शेखर–गगन पक्षको मंगलबार बसेको बैठकले पार्टीमा देउवा पक्षले एकलौटी गरेको र गत साउनमा बसेको केन्द्रीय समितिले तय गरेको कार्यसूची प्रभावित हुने आशंका गरेका थिए ।

प्रकाशित : 20 September, 2023

प्रतिक्रिया दिनुहोस्