महिलाको दाँजोमा पुरुषमा हृदयघातको सम्भावना बढी

काठमाडौँ । असोज ३, हृदयघात हुने र यसबाट मृत्यु हुनेमा पुरुषको संख्या धेरै हुन्छ । पुरुषको तुलनामा महिलामा मुटुको रोग १० वर्षपछि मात्र देखिन सक्ने विज्ञहरु बताउँछन् ।
महिलामा हृदयघातको सम्भावना पुरुषको दाँजोमा कम देखिन्छ । यसो भन्दैमा महिलालाई हृदयघात हुँदैन भन्ने होइन । महिलाको दाँजोमा पुरुषमा हृदयघात हुने सम्भावना दुई गुणा बढी हुने तथ्यांकले देखाएको छ ।
मुटुको लागि जोखिम मानिएको चुरोट, रक्सीजस्ता कुरा महिलाको दाँजोमा पुरुषले बढी सेवन गर्छन् । अर्को कारण महिलामा ४५ देखि ५० वर्षको उमेरसम्म एस्ट्रोजन भन्ने हार्मोनको स्तर बढी हुन्छ, जसले गर्दा महिलामा हृदयघात कम हुन्छ । त्यसैले पनि पुरुषमा युवावस्थामा र महिलामा बढी उमेर हुँदा हृदयघात हुने जोखिम बढी हुन्छ ।
एस्ट्रोजन मुटुका लागि राम्रो हार्मोन मानिन्छ । पुरुषमा एस्ट्रोजेनको स्तर कम हुन्छ भने महिलामा रजोनिवृत्तिअघि एस्ट्रोजनको मात्रा बढी हुन्छ र प्रोजेस्टेरोनको स्तर घट्छ । रजोनिवृत्ति पछि दुबैको स्तरमा भिन्नता हुन्छ । एस्ट्रोजन घट्छ र प्रोजेस्टेरोन बढ्छ । जसकारण महिलामा उमेर बढ्दै जाँदा मुटुरोगको जोखिम पनि बढ्छ । र, ६० वर्षपछि महिला र पुरुषमा हृदयघातको जोखिम उत्तिकै हुन्छ ।
छातीको बीच भागमा दुख्ने, छाती केही गह्रौं वस्तुले थिचे जस्तो भारी हुने, अत्यधिक पसिना आउने, सास फेर्न गाह्रो हुने, मुटुको धड्कन बढेजस्तो हुने, दुखाइ देब्रे हात हुँदै देब्रे पाखुरातर्फ सर्ने हुँदै घाँटीको देब्रे भाग र चिउँडोसम्म पनि हुन सक्ने मुख्य लक्षण हुन् । कसैमा भने बिना दुखाइ हृदयघात हुन सक्छ । यसलाई ‘साइलेन्ट हार्टअट्याक’ पनि भन्ने गरिन्छ ।
हृदयघात हुने संकेत थाहा हुँदै ‘एस्प्रिन’, ‘डिस्प्रिन’ वा ‘क्लोपिडोरियल’ नामक औषधि खाँदा केही जोखिम कम छ । त्यसपछि जतिसक्दो चाँडो सहज साधनमा अस्पताल लैजानुपर्छ । यस्तै, सम्भव भएसम्म एम्बुलेन्स नआउन्जेल बिरामीलाई अक्सिजन दिएर राख्नुपर्छ ।
अस्पतालमा तत्काल अस्पताल लैजान सकेमा तुरुन्त हृदयघात भएको निर्क्योल गरी उपचार प्रक्रिया सुरु गर्न सकिन्छ । जति छिटो उपचार प्रक्रिया सुरु भयो त्यति बिरामी बाँच्ने वा मृत्युको जोखिम कम गराउन सम्भव हुन सक्छ ।