चीनमा रक्षामन्त्री गायब प्रकरणले राजनीतिक तरंग

सहयात्रा टिभी

काठमाडौँ । असोज ३,  एजेन्सी -शासनको तेस्रो कार्यकालमा आफ्नो भव्य दृष्टिकोण सफल बनाउनका लागि चिनियाँ राष्ट्रपति सी जिन फिङले वफादारहरूलाई शीर्ष स्थानमा राखेका थिए ।

सीको अपेक्षा थियो, ‘वफादारहरूले आफ्नो दृष्टीकोण सहजताका साथ कार्यान्वयन गर्नेछन् ।’

तर एक वर्षको अवधिमै सीको यो अपेक्षामा कठिनाइ देखापरेको छ । आफ्ना विश्वापात्रलेनै प्रश्न उठाउन थालेपछि सीले राजनीतिक तरंगको सामाना गर्नुपरेको छ ।

दुई महिनाको अवधिमा चीनका दुई उच्चपदस्थ मन्त्री र चीनका लागि अन्तर्राष्ट्रिय मध्यस्थकर्ता गायब छन् । पूर्व परराष्ट्रमन्त्री क्वीन गाङ नाटकीय रुपमा गायब भएको घटनापछि हाल रक्षा मन्त्री ली साङफू गायब छन् । विगत तीन सातादेखि उनी सार्वजनिक वृत्तमा देखा परेका छैनन् ।

पश्चिमासँगको बढ्दो तनावको समयमा सीले आन्तरिक कमजोरी वा खतरालाई हटाउन खोजेको अवस्थामा उनीहरू गायब भएका हुन् ।

ली र क्वीन दुबै राज्य परिषद्का पाँच सदस्य मध्येमा थिए । दुबैजना मन्त्रिपरिषद्का प्रभावशाली मन्त्री थिए । ली केन्द्रीय सैन्य आयोगमा समेत थिए । सी नेतृत्वको यस शक्तिशाली आयोगले चीनको सम्पूर्ण सशस्त्र बललाई परिचालन गर्छ ।

एक महिनाअघि आकस्मिक रुपमा सीले सेनाका दुई उच्च कमाण्डरलाई बर्खास्त गरेका थिए ।

पूर्व परराष्ट्रमन्त्री क्वीन गायबको घटनामा पनि सरकार मौन थियो । रक्षामन्त्रीको प्रकरणमा पनि सरकारले केही बोलेको छैन । सीको अपारदर्शी कार्यकालमा यस्ता घटना सामान्य छन् ।

सरकार केही नबोलेपनि उच्च श्रोतको हवला दिँदै गत मंगलबार वाल स्ट्रीट जर्नलले एक समाचार प्रकाशित गरेको छ । क्वीनमाथि विवाहेत्तर सम्बन्धमा सरकारी अनुसन्धान भइरहेको त्यसमा जिकिर छ ।

अमेरिकामा राजदूत हुँदा उनी विवाहेत्तर सम्बन्धमा रहेकाले अनुसन्धान गरिएको सार समाचारमा छ । चीनको विदेशमन्त्रालयले यस मामिलामा कुनै प्रतिक्रिया जनाएको छैन ।

उच्चपदस्थ नेतानै गायब हुँदा कायम भइरहेको बेइजिङको मौनतालाई विश्वलेनै आश्चर्यका रुपमा हेरेको छ ।

प्रकाशित : 20 September, 2023

प्रतिक्रिया दिनुहोस्