प्रधानमन्त्री प्रचण्डको एक साता लामो चीन भ्रमण आजदेखि सुरु

काठमाडौं । असोज ५, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक साता लामो चीन भ्रमण आजदेखि सुरु हुने भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै आज चीनको हाङजाओ प्रस्थान गर्ने भएका हुन् ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कको स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट चीन प्रस्थान गर्नेछन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेपछि प्रचण्ड त्यहाँ चीन भ्रमणमा जाने औपचारिक कार्यसूची परराष्ट्र मन्त्रालयले बिहीबार मात्रै सार्वजनिक गरेको थियो । प्रचण्डको भारत भ्रमणपछि उनको चीन भ्रमणको तयारी लामो समयदेखि चलिरहेको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार भेट हुने तय भएको छ । १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने र प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट त्यहीँ पुग्ने भएपछि शनिबार उनीहरूबीच भेट हुने भएको हो ।
आजबाट सुरु हुने प्रचण्डको चीन भ्रमण नेपालसँग सीमा जोडिएको तिब्बतको ल्हासासम्म पुगेर ३० सेप्टेम्बरमा सकिने छ ।