कांग्रेस बैठकमा उठ्यो पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग

सहयात्रा टिभी

काठमाडौं । असोज ५, कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग उठेको छ ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला कांग्रेसको बैठकमा नेताहरुले शिक्षकहरुलाई व्यावसायिक बनाइनुपर्ने, पर्याप्त सेवा सुविधा दिनुपर्ने तर राजनीतिक संस्थामा आवद्ध हुन दिन नहुने बताएका हुन् ।

नेपाली कांग्रेस निकट शिक्षकहरुको पनि संघ छ । कांग्रेस निकट शिक्षकहरु नेपाल शिक्षक संघमा आवद्ध छन् । कतिपयले शिक्षकहरुले संघ बनाउन पाउने र पार्टी सम्बद्ध हुन पाउने मजदुर अधिकारको पक्ष भएको तर्क गरिरहेका बेला कांग्रेस नेता गोपाल दहितले पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग राखेका हुन् ।

विश्वभरका विकसित मुलुकमा कुनै प्रकारका युनियन नरहेको नेता दहित भन्छन्, ‘नेपालमा हेर्ने हो भने हरेक क्षेत्रमा विकासको वाधकको रुपमा युनियनहरु पाइरहेका छौं ।’

नेकपा एमालेमा युनियन पार्टी संगठनकै रुपमा रहेको पनि कांग्रेस नेता दहितले स्मरण गरे ।

साथै, कांग्रेस नेताहरुले शिक्षकहरुको सेवा सुविधाको मागमा सरकार गम्भीर हुनुपर्ने र त्यसका लागि पार्टी समेत निर्णय गरेर सरकारलाई भन्नुपर्ने माग राखेका छन् ।

विद्यालय शिक्षा विधेयकलाई आवश्यक परिमार्जन गर्दै अगाडि बढ्न सकिने भएकाले आन्दोलनको विकल्प खोज्न पनि कांग्रेस नेताहरुले आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् ।

 

प्रकाशित : 22 September, 2023

प्रतिक्रिया दिनुहोस्