बाँकेको बाल सुधारगृहमा झडप, एकको मृत्यु

नेपालगन्ज । असोज ६, बाँकेको डुडुवा गाउँपालिका-६, आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहभित्र रहेका बाल बिज्याइँकर्ताको दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूपन्देहीको कञ्चन गाउँपालिका–४ का १८ वर्षीय सुलभ केसी छन् । झडपका क्रममा घाइते १० जनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । सुधारगृहकी प्रमुख विमला काउचा मगरका अनुसार चार जनाको अवस्था गम्भीर छ ।
गृहभित्र बिहीबार राति दुई पक्षबीच भएको झडपका कारण २ सय ६० जना रहेको बालगृह १६ घण्टासम्म अशान्त बनेको थियो । एउटा समूहले भवनमा आगजनीसमेत गरेको थियो । प्रहरी नायब उपरीक्षक नारायण डाँगीले १८ वर्षभन्दा बढी र कम उमेरका एकै ठाउँमा रहेकाले स्थिति तनावपूर्ण बनेको बताए । झडपकै बीच सुधारगृहबाट २५ जना बेपत्ता भएका थिए । प्रहरीले २१ जनालाई खोजेर ल्याए पनि ४ जना अझै सम्पर्कविहीन छन् । एक समूहले हानेको रड सुलभको टाउकोमा लागेपछि राति ११ बजे नै उनलाई उपचारका लागि अस्पताल पुर्याइए पनि उनको त्यही मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सुधारगृहभित्र रहेका बालक दुई समूहमा बाँडिएर झडपमा उत्रिएको देखिन्छ । ०७५ भदौदेखि यो बालगृह व्यवस्थापनको जिम्मा न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) गैरसरकारी संस्थाले गरिरहेको छ । युसेपले व्यवस्थापन सम्हालेयताका वर्षमा बारम्बार झडपका घटना दोहोरिएका छन् । एक महिनाअघि गृहका एक बालकले ड्युटीमा तैनाथ प्रहरी सहायक निरीक्षक (असई) माथि आक्रमण गरेका थिए । गृहका कर्मचारीका अनुसार पछिल्ला समय सुधार गृहभित्रै लागूऔषधको कारोबार र प्रयोग बढेको थियो । बालबालिकाका परिवारले भने गृहको व्यवस्थापकीय कमजोरीका कारण लागूऔषध प्रयोगकर्ताहरूको संख्या बढिरहेको सुनाए ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले क्षमताभन्दा धेरै संख्या रहेकाले यस्तो विवाद दोहोरिरहेको बताए । २ सय जनाको क्षमता रहेको सुधारगृहमा अहिले २ सय ५५ जना छन् । जसमध्ये मुद्दा फैसला भइसकेका १ सय ११ छन् भने पुर्पक्षका लागि राखिएका १ सय ४४ जना छन् । बाल सुधारगृह प्रशासनका अनुसार यहाँ कर्तव्य ज्यान मुद्दाका २७ र जबर्जस्ती करणी अपराधमा १ सय १७ जना छन् । गृहमा १६ देखि १८ वर्षसम्मका एक सय ७३ जना छन् । १८ वर्ष पूरा भएका ४३ र १४ वर्षमुनिका १४ जना छन् ।