पूर्वअरनिको प्रालिद्धारा बसपार्कको संरचना नियमसम्मत रुपमा बनाएको दाबी

सहयात्रा टिभी

काठमाडौं । असोज ८, पूर्वअरनिको यातायात प्रालिले जडिबुटीमा बनाएको बसपार्क सञ्चालन गर्न नदिए प्रतिकार गर्ने बताए ।

प्रालिले सोमबार पत्रकार सम्मेलन गरेर बसपार्कको संरचना नियमसम्मत रुपमा बनाएको दाबी गर्दै सञ्चालनको अनुमति दिनुपर्नेमा महानगरले भत्काउने चेतावनी दिएकामा आपत्ति जनाएका हुन् ।

काठमाडौं महानगरपालिकाले आफूहरुको नीति गोंगबुमा रहेको बसपार्क मात्र सञ्चालन गर्ने नीति रहेको भन्दै अर्को बसपार्क सञ्चालन गरे भत्काउने चेतावनी दिएको थियो । जवाफमा पूर्वअरनिकोले पत्रकार सम्मेलन गरेर प्रतिकार गर्ने जनाएको हो ।

काठमाडौं महानगरपालिका– ३२, जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले सुविधासम्पन्न बसपार्क निर्माण गरेपनि सञ्चालन अनुमति पाएको छैन ।

१४ रोपनी जग्गा भाडामा लिएर अरनिकोले बसपार्क निर्माण गरेको हो । तर, अनुमति नै नलिई बसपार्क निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिका र प्रदेश यातायात मन्त्रालयले त्यसलाई सञ्चालन गर्न नदिने बताएका छन् ।

अध्यक्ष क्षेत्रीले महानगरपालिकाले पुरानो बसपार्क हटाएपछि बाध्यतामा परेर विकल्प खोजेको बताए । ‘बसपार्क हटाएपछि कहिले खोलाको छेउमा, कहिले रोडमा बस रोकेर बस्न परेको थियो । टुँडिखेलबाट विकल्प विना यातायात हटाइएको छ ।

आफ्नो व्यवस्था आफैंले गर्नुपर्छ भनेर हामीले वसपार्क बनाएका हौं’, उनले भने । आफूहरुले ५ वर्षका लागि बसपार्क बनाएको भन्दै राज्यले व्यवस्थित बसपार्क बनाइदिए त्यहीँ जाने अध्यक्ष क्षेत्रीले बताए ।

बसपार्क बन्नु अगाडि मेयर बालेन शाहले अनुगमन समेत गरेको भन्दै उनले ‘पिच गर्ने कि नगर्ने’ भनेर आफूहरुले सोध्दा जवाफ नदिई हिँडेको बताए । निर्माण सुरु गर्ने बेला महानगरपालिका, उपत्यका विकास प्राधिकरण, ट्राफिक प्रहरी कार्यालयलाई पत्र दिए पनि जवाफ नआएपछि राम्रो काम गर्ने भन्दै सुरु गरेको उनले तर्क गरे ।

गोंगबुस्थित बसपार्कबाट मात्र बस छुट्ने र टिकट काट्ने महानगरको निर्णय व्यवहारिक र यात्रुमैत्री नभएको पनि क्षेत्रीले बताए । ‘गोंगबुबाट टिकट काट्ने, त्यहीँबाट मात्रै चढ्ने, ओर्लने कुरा यात्रु, मजदुर र ट्राफिकमैत्री छैन । कोटेश्वर, बानेश्वर झर्ने मान्छे किन झर्न नपाउने ? यो यात्रुमैत्री भयो र ?’ उनले प्रश्न गरे ।

आफ्नै पैसा हालेर जनतालाई सेवा दिन्छु भन्दा नपाउने भन्दै सरकारले व्यवस्थित बसपार्क दिए भोलि विहानदेखि नै त्यहीँ जाने क्षेत्रीले बताए ।

 

प्रकाशित : 25 September, 2023

प्रतिक्रिया दिनुहोस्