आज ४४ औँ विश्व पर्यटन दिवस मनाइदै

सहयात्रा टिभी

काठमाडौँ । असोज १०, आज विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी मनाइदै छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विश्व पर्यटन दिवसका अवसरमा विदेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको छ ।

दिवसका अवसरमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । बिहान ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिएको थियो ।

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ आज नेपालमा विश्व पर्यटन दिवस मनाइँदै छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज ४४ औँ विश्व पर्यटन दिवस मनाउन सार्वजनिक बिदाको घोषणा गरेको छ ।

नगर अस्पताल बाहेक नगरपालिका मातहातका सबै कार्यालय र शिक्षण संस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले जानकारी दिनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज मूल गन्तव्यसहित बर्दियालाई चिनाउनकै लागि यस वर्षको प्रदेश स्तरीय विश्व पर्यटन दिवस बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारामा मनाउन लागिएको उपमेयर विना कुमारी भट्टराईले बताउनुभयो ।

विश्व पर्यटन दिवस मनाउन प्रदेश तथा जिल्लाका सरोकारवालासहित ३६ सदस्यीय मूल समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।

 

 

प्रकाशित : 27 September, 2023

प्रतिक्रिया दिनुहोस्