सहमति अनुसार सुन तस्करीको जाँचबुझ आयोग गठन नभएकोमा रास्वपाद्धारा असन्तुष्टि

सहयात्रा टिभी

काठमाडौँ । असोज ११, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करीको अनुसन्धान गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सरकार, सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेको ध्यानाकर्षण गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले दलहरुका बीचमा भएको सहमति अनुसार आयोग गठन नभएकोमा असन्तुष्टि जनाएको छ ।

गत भदौ ६ गते राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच सुन तस्करी प्रकरणको थप छानबिनका लागि असोज ५ गते उच्चस्तरीय समिति बनाउने सहमति भएको थियो ।

तर कार्यादेशका सम्बन्धमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीचमा विवाद भएपछि आयोग गठन हुन सकेको छैन । यससम्बन्धमा विज्ञप्तिमार्फत आयोगले भनेको छ, ‘सरकारले निर्धारित मितिमा समिति गठन नगरेर सहमति उल्लंघन गरेको छ ।’

सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीचमा देखा परेको विवादले आयोग नै गठन नहुने आशंका जन्मिएको भन्दै आयोगले सात दलका बीचमा भएको सहमति अनुसार कार्यादेश हुने गरी आयोग गठन गर्न भनेको हो ।

 

प्रकाशित : 28 September, 2023

प्रतिक्रिया दिनुहोस्