रुकुमका दुई केन्द्रमा आज पुनः मतदान

सहयात्रा टिभी

रुकुम । मतदान स्थगित गरिएको रुकम पश्चिमका दुई केन्द्रमा आज (शुक्रबार) पुनः प्रतिनिधि तथा प्रदेशसभा मतदान हुँदैछ ।
मतपेटिकामा एसिड हालेर मतपत्र जलाइएपछि निर्वाचन आयोगले गत १० गते ती केन्द्रको मतदान स्थगित गरेको थियो ।

मतदान स्थगित भएका बाँफीकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाका एक–एक मतदान केन्द्रमा पुनः मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ । बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ भने आठबीसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ ।

दुवै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताएका छन् । बाँफीकोटको मतदान अधिकृतमा जिल्लाका सहायक निर्वाचन अधिकृत समेत रहेका तेजप्रसाद पौडेललाई खटाइएको छ भने आठबीसकोटको मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँबर मतदान अधिकृतका रुपमा खटिएका छन् । बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत खसेको थियो ।

आठबीसकोटको मतपेटिकामा ३०३ मत खसेको थियो । दुवै मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबीसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।

प्रकाशित : 1 December, 2017

प्रतिक्रिया दिनुहोस्