चीनको ८ दिने भ्रमण पूरा गरी प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै

काठमाडौं । असोज १३, न्युयोर्कबाट चीन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ८ दिने भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । उनी बिहान ११ बजे काठमाडौं आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल शुक्रबार तिब्बतको ल्हासाबाट छेन्दु पुगेका थिए । उनलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङलगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री दाहालले छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्नुका साथै साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग दुईपक्षीय भेटवार्ता गरेका छन् । दाहालले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क गएका दाहाल उतैबाट सिधै चीन गएका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङलगायत चिनियाँ उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
चीन भ्रमणका क्रममा औपचारिक भेटवार्तामा भन्दा अनौपचारिक घुमघाममा बढी समय बिताएको भन्दै कतिपयले प्रधानमन्त्रीको आलोचना गरेका छन् ।