पब्जीमा सेमिफाइनलबाटै बाहिरियो नेपाल
काठमाडौं । असोज १३, १९औँ एसियाली खेलकुदअन्तर्गत पदकको आशा गरिएको पिस एलिट पब्जी मोबाइलमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।
हाङचउ ई-स्पोर्टस सेन्टरमा आज सम्पन्न सेमिफाइनलको समूह-एमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न असफल रह्यो । सोसँगै पब्जी मोबाइलमा पदक जित्ने नेपालको सम्भावना समाप्त भएको छ । यस समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेइ शीर्ष २ स्थानमा रहँदै फाइनल प्रवेश गरे । नेपाल समूहमा तेस्रो स्थान आसिल गर्दा जापान पुछारमा रहँदै बाहिरियो ।
नेपालले ५४ मिनेट ३३ सेकेन्ड समयमा ४ राउन्ड सकेको थियो । कोरियाले ५० मिनेट ३७ सेकेन्ड तथा ताइपेइले ५२ मिनेट १९ सेकेन्ड लगाएको थियो । जापानले ५४ मिनेट ४२ सेकेन्ड समय खर्चियो । ई-स्पोर्ट्सको अर्को विधा डोटामा नेपालले आजै प्रतिस्पर्धा गर्दै छ ।
यस्तै महिला इन्डिभिजियोल ट्राइथलनमा पनि नेपालको चुनौती समाप्त भएको छ । २१ खेलाडी सम्मेलित ट्राइथलनमा नेपालीकी श्रेबी महराजन १७ औँ स्थानमा आइन् ।
महिला भलिबल टोलीले आज प्रारम्भिक चरणमा भियतनामको समना गर्दै छ । पुरुष भलिबल टोली भने प्रतियोगिताबाट बाहिरिसकेको छ । यसबाहेक आज नेपालले गल्फ, ह्यान्डबल, बक्शिङ र एथ्लेटिक्समा प्रतिस्पर्धा गर्दैछ ।