नेपालका चिनी उद्योगहरुसँग झण्डै १९ हजार मेट्रिक टन चिनी मौज्दात

सहयात्रा टिभी

काठमाडौं । असोज १७, बजारमा चिनीको अभाव र मूल्यवृद्धि भइरहेको बेला नेपालका चिनी उद्योगहरुसँग झण्डै १९ हजार मेट्रिक टन चिनी मौज्दात रहेको भेटिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनमा १ लाख ८८ हजार ५ सय १३ क्विन्टल (१८ हजार ८ सय १३ टन) चिनी भेटिएको विभाग स्रोतले दाबी गरेको छ ।

चिनी कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल, जुस तथा कन्फेक्सनरी उत्पादन गर्ने डाबर नेपाल, पेप्सी र स्लाइस उत्पादन गर्ने बरुण बेभरेज र बिस्कुट उत्पादन गर्ने उद्योगले किनेर राखेको जानकारी उद्योगहरुले दाबी गरेका छन् ।

चिनीको चरम अभाव भएपछि उत्पादन र बजार अवस्थाबारे अध्ययन गर्न विभागले एक समिति गठन गरेको थियो ।

विभागका अनुसार उद्योगलाई तत्काल चिनी नचाहिएको खण्डमा बजारमा पठाउन सकिने विकल्पका बारेमा अहिले छलफल भइरहेको छ ।

नेपाल चिनी उद्योग संघका अध्यक्ष तथा एभरेष्ट सुगर मिलका सञ्चालक शशीकान्त अग्रवालले आफूहरुसँग कोकाकोला कम्पनीले किनिसकेको ८–१० हजार मेट्रिक टन चिनीको मौज्दात रहेको दाबी गरे ।

विभागले नै कोकोकोलासँग कुरा गरेर चिनी बजारमा पठाउनेबारे छलफल गर्ने बताएको जानकारी पनि उनले दिए ।

सरकारले भारतसँग जीटूजी (सरकार–सरकार)मा खरिद गर्ने भनेको ५० हजार टन चिनी आएपछि उद्योगलाई दिनेगरी बजारको मागका लागि उद्योगको चिनी पठाउन सकिने विकल्पमा छलफल चलाएको विभाग स्रोतले बतायो ।

असार अन्तिम होलसेलमा ८० रुपैयाँ र खुद्रामा ९५ रुपैयाँ किलोमा कारोबार भइरहेको चिनीको मूल्य मूख्य चाडपर्व सुरु भएसँगै ह्वात्तै बढाइएको थियो । अहिले खुद्रा बजारमा चिनी प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री गरिरहेको पाइएको छ । पछिल्लो डेढ महिनायता चिनीको मूल्य प्रतिकिलो ५५ रुपैयाँले वृद्धि भएको हो ।

होलसेल तथा खुद्रा व्यापारीहरुकाअनुसार चिनीका वितरकहरुले १२५ रुपैयँसम्म विना बिल चिनी बिक्री गरिरहेका छन् । ‘

वाणिज्य मन्त्रालयले भने भारतबाट जीटूजीको चिनी ल्याउन हरसम्भव प्रयास गरिरहेको बताएको छ । सरकारले कूटनीतिक च्यानलबाट प्रयास गरिरहेको प्रवक्ता एवम् सहसचिव गजेन्द्र ठाकुरले बताए ।

 

प्रकाशित : 4 October, 2023

प्रतिक्रिया दिनुहोस्