इन्जिनियरिङ अध्ययनको शुल्क विवाद टुंगियो

सहयात्रा टिभी

काठमाडौं । असोज २१, लामो विवादपछि इन्जिनियरिङ अध्ययनको शुल्क विवाद टुंगिएको जानकारी प्राप्त भएको छ ।

नयाँ सहमति अनुसार इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क पूर्ण शुल्कीयतर्फ धरौटीसहित एक लाख ९० हजार र निःशुल्क तर्फ पनि १० हजार बढाएको जनाएको छ ।

यस अनुसार शैक्षिक वर्ष २०८०/०८१ को स्नातक तहको नियमित तर्फ ५६ हजार ७००, पूर्ण शुल्कीय तर्फको (धरौटी सहित) चार लाख ९० हजार र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५०० रुपैयाँ शुल्क कायम गरिएको संस्थानले जनाएको छ ।

साथै प्रवेश परीक्षाका लागि २२ असोजदेखि २४ गतेसम्म फराम भर्नुपर्नेछ भने १४ कात्तिकमा प्रवेश परीक्षा हुनेछ ।

इन्जिनियरिङ अध्ययन संस्थानले ५४ सालदेखि पूर्ण शुल्कीयतर्फ तीन लाख १८ हजारमा पढाउँदै आएको थियो ।

विद्यार्थीहरुको पुरानै शुल्क (तीन लाख १८ हजार) मा भर्ना गर्नुपर्ने र क्याम्पसहरुले पुरानो शुल्कमा भर्ना लिन नसक्ने भन्दै अडान लिएपछि विवाद लम्बिएको थियो ।

यसबीचमा विभागीय प्रमुखहरुको सामूहिक राजीनामा मात्र आएन, विद्यार्थी संगठनमाथि अपहरणको आरोपसमेत लाग्यो ।

विद्यार्थी संगठनहरुमाथि डीन र सहायक डीनलाई बन्धक बनाएर पुरानै शुल्क (तीन लाख १८ हजार) अनुसार भर्ना लिने र असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने वक्तव्य जारी गर्न लगाएको आरोप लागेको हो ।

तर शुक्रबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु समेतको उपस्थितिमा संस्थान, प्राध्यापक संघ संगठन र विद्यार्थी संगठनहरुहरुबीच भएको छलफलमा नयाँ सहमति जुट्यो ।

 

प्रकाशित : 8 October, 2023

प्रतिक्रिया दिनुहोस्