तनहुँमा ४ वटा पेस्तोलसहित ३ जना पक्राउ

सहयात्रा टिभी

तनहुँ । तनहुँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल र गोलीसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा आँबुखैरेनी गाउँपालिका–३ का २८ वर्षीय अभियान श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका–४ का २४ वर्षीय विजय गुरुङ र सोही स्थानका २६ वर्षीय जय गुरुङ छन् ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर गुरुङ नेतृत्वको टोली र कृष्णदल गण ढकालटारबाट प्रमुख सेनानी अशोककुमार कार्की नेतृत्व संयुक्त टोलीले राति १२ बजेदेखि निरन्तर निगरानी गरी विहान उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले युएसएमा निर्मित ६ राउण्ड गोली लोड भएको ३ थान पेस्तोल, ३ थान एक्स्ट्रा म्याग्जिन, ३९ थान एक्स्ट्रा गोली, गोली नभएको खाली अवस्थाको इटालियन पेस्तोल १ थान, म्यागनम हतियारमा लाग्ने गोली ४८ थान, खेलौना पेस्तोल १ थान र चक्कु १ थान बरामद गरेको छ ।

आँबुखैरेनी गाउँपालिका वडा नं. ३ मा रहेको अभियान श्रेष्ठको घरमा उनीहरुलाई पक्राउ गर्ने तयारी भइरहँदा प्रहरीसँग नै भिड्ने योजना बनेको थाहा पाएपछि थप सुरक्षाको बलमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 4 December, 2017

प्रतिक्रिया दिनुहोस्