‘लालपूर्जा दिनेलाई लाइन्छ भोट’
मोरङ । ‘रात रहे, अग्रांख पलाउँछ’ भन्ने नेपाली उखान गाउँघरमा प्रशस्त सुन्न पान्छ । अहिले मोरङका धेरै सुकुम्बासी नागरिक आफ्नो मागलाई भरे–भोलिका लागि नराखी तत्काल पूरा हुने मौका सिर्जना गर्न नेताहरुलाई सोझो जवाफ दिइरहेका छन्–‘पहिला–पहिला नेताहरुले लालपूर्जा देलान् भनेर पर्खिइयो, यो पाला चाहिं जसले लालपूर्जा दिन्छ । उसैलाई हाम्रो भोट ।’
मोरङको पथरी शनिश्चरे नगरपालिका–९ कुसेका फूलबहादुर लिम्बूको नाममा शित छल्नका लागि छानो राख्ने पनि जमिन छैन । ४७ वर्षअघि पहाडबाट झरेदेखि आफ्नो बुवा–आमाले चर्चिदैं आएको १० कठ्ठा जग्गा खनजोत गरेपनि आफ्नो भन्ने अधिकार लिम्बूसँग छैन । जग्गाको लालपूर्जा नभएकै कारण आफ्नो बुढ्यौली अवस्था कसरी टर्ला भन्ने उनमा चिन्ता छ । उनी यस पटक भने भोट माग्न आएका उम्मेद्वारलाई लालपूर्जा दिन भनेको सुनाउँछन् । मोरङको पथरी, शनिश्चिरे, हसन्दह र वयरवनका चार गाउँका धेरैको समस्या एउटै छ । चार दशकदेखि यो समस्या झेल्दै आएका सुकुम्बासी बस्तीका बासिन्दामा सधैं एउटै चिन्ता हुन्छ, जग्गाधनी पूर्जा हातमा पर्ने हो कि हैन । यसअघिको चुनावमा जग्गाधनी पूर्जा दिलाउने आश्वासनमा धेरै उम्मेद्वारले मत फुत्काएका थिए । तर ती आश्वास कहिल्यै पूरा नभएको नारायणकुमारी लिम्बू सुनाउँछिन् ।
अहिलेका यी बस्ती ५० वर्षअघि पटेर जङ्गल थियो । संखुवासभा, भोजपुर, इलाम, पाँचथरबाट मधेस झरेकाहरुले जङ्गल फाँडेर खेती किसानी गर्न थाले । जग्गाधनी पूर्जाबिहीन भए पनि यी परिवारले जग्गा प्रयोग गरेको घरधुरी कर भने तिर्दै आएका छन् । जग्गा एउटै, तर स्वामित्व र भोगचलन फरक–फरक व्यक्तिले गरिरहेका कारण पथरी, शनिश्चरे, हसन्दह र बयरवनमा बासिन्दा दोहोरो स्वमित्वको विवादमा पनि रुमलिँदै आएका छन् ।
पञ्चायतकालमा सरकारले सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षण क्षेत्र, इलामको बाँझो, चुलाचुली र मोरङको हम्सेदुम्से एवम् चन्दनेका बासिन्दालाई साविकको चार गाविसमा पर्ने क्षेत्रमा स्थानान्तरण गरेको थियो । त्यतिबेला सरकारले झण्डै ५ सय घर परिवारलाई मोरङको केचनारबयरवन क्षेत्रमा राखेको थियो । झण्डै ५० वर्षदेखि बस्दै आएकाहरुलाई लालपूर्जा दिलाउने उम्मेद्वारहरुको हरेक चुनावमा चुनावी नारा हुने गरेको छ । तर चुनिएर गएपछि समस्या समाधानमा कसैले काम गरेको पाइँदैन ।