कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बनाउने मागको माओवादीद्धारा प्रतिवाद

सहयात्रा टिभी

काठमाडौं । असोज २६, नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गरेको राष्ट्रिय सरकार गठनको मागको माओवादी सांसदले प्रतिवाद गरेको जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर गौतमले राष्ट्रिय सरकार गठनको माग गरेका थिए । गौतम लगत्तै बोलेका माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बनाउने मागको प्रतिवाद गरे ।

कांग्रेस सांसद गौतमको भनाइको प्रतिवाद गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको कामकारबाहीको बचाउ गरे । समग्रतामा वर्तमान सरकारको नेतृत्व बदलेर कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव सांसद गौतमको छ ।

संविधानको रक्षाका लागि समेत राष्ट्रिय सरकार आवश्यक रहेको उनको भनाइ छ । ‘कांग्रेस सबैभन्दा ठूलो दल हो । सबै मिलेर एकपल्ट राष्ट्रिय सरकार बनाऔं । होइन भने क्रान्ती र परिवर्तन सबै सिद्धिएर जान्छन् । त्यसले कहाँ पुर्याउँछ थाहा छैन’ कांग्रेस सांसद गौतमले भनेका छन् ।

माओवादी सांसद पाण्डेले काउण्टर गरे, ‘सदनमा राष्ट्रिय सरकारको विषय पनि उठेको छ । म भन्न चाहन्छु, हामी देशलाई अगाडि बढाउने कुरा गरिरहेका छौं । फेरि अरु नयाँ नयाँ विषयहरु थप्दै, हामीलाई आफूलाई लागेका कुराहरु गरेका छौं । यो होइन ।’

देशले एउटा गति लिइरहेको दाबी गर्दै उनले थपे, ‘संविधान हामीले जो बनाएका छौं । यसलाई दृढताका साथ कार्यान्वयन गर्दै देशलाइ अगाडि बढाउन आवश्यक छ ।’

संविधानको रक्षा र संघीयताको कार्यान्वयनमा वर्तमान सरकारले काम गर्न नसकेको कांग्रेस सांसदको भनाइको प्रतिवाद गर्दै माओवादी सांसद पाण्डेले यसमा तीन वटै सरकार र संघीय संसद उत्तिकै जिम्मेवार रहेको बताए ।

संघीय संसदले समयमै कानुन बनाउन नसक्दा संघीयता कार्यान्वयनमा असर परिरहेको पाण्डेको तर्क छ ।

 

प्रकाशित : 13 October, 2023

प्रतिक्रिया दिनुहोस्