विश्व बैंकको बैठकमा भाग लिएर अर्थमन्त्री डा. महत सहितको टोली स्वदेश फिर्ता
काठमाडौं । असोज २८, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा भाग लिएर नेपाली प्रतिनिधिमण्डल टोली स्वदेश फिर्ता भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा मोरोक्कोको माराकेश गएको नेपाली प्रतिनिधिमण्डल टोली आइतबार नेपाल फर्किएको हो ।
अर्थमन्त्री विश्व बैंकको र नेपाल राष्ट्र बैंकका गभर्नर आईएमएफको पदेन गभर्नर रहने व्यवस्था छ ।
त्यसैगरी अर्थ सचिव विश्व बैंकको वैकल्पिक गभर्नर तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव आईएमएफको वैकल्पिक गभर्नर रहने व्यवस्था छ ।
बैठकमा वर्षभरको कार्य सम्पादनमा देखिएका समस्या तथा हासिल भएका प्रगतिको समीक्षा गरी आगामी वर्षको रणनीतिका विषयमा प्रतिनिधि मुलुकबीच छलफल हुन्छ ।
संसार भरबाट अर्थमन्त्रीहरु विश्व बैंकको गभर्नरको हैसियतमा सहभागी हुने यी वार्षिक बैठकहरुको साइडलाइनमा सहभागीबीच सामूहिक तथा द्विपक्षीय हितका विषयमा छलफल गर्ने तथा अन्तर्राष्ट्रिय समुदायसँगको सञ्जालमा जोडिने अवसर समेत प्राप्त हुन्छ ।
नेपाली प्रतिनिधि मण्डलमा अर्थमन्त्रीको नेतृत्वमा अर्थ सचिव र सहसचिव सहितका सदस्य र नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नर सहितको टोली सहभागी भएको थियो ।