स्कुलका प्रिन्सिपलको हत्यामा संलग्न रहेको आशंकामा पूर्व शिक्षिकासहित ६ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १४, बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक पूर्व शिक्षिकासहित ६ जनालाई पक्राउ गरेको छ ।

बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

उनको हत्यामा मुख्य योजनाकारसहित ६ जना पक्राउ परेपछि यसअघि पनि स्वर्णकारको हत्याको योजना बनेको तथ्य खुलेको हो।

अनुसन्धानमा खटिएको एक प्रहरीका अनुसार  प्रारम्भिक बयानका क्रममा उनीहरूले गत साउनमा पनि स्वर्णकारको हत्या प्रयास गरेको बताएका छन्। त्यतिबेला स्वर्णकारले भागेर ज्यान जोगाए पनि प्रहरीलाई त्यसबारेमा खबर नगरेको ती अधिकारीले बताए।

पक्राउ पर्नेहरुमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिकासमेत रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको प्रहरीको भनाइ छ । टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।

आपसी सम्बन्ध र रिसिबीको कारण स्वर्णकारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

प्रकाशित : 31 October, 2023

प्रतिक्रिया दिनुहोस्