प्रधानमन्त्री प्रचण्डद्धारा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख

काठमाडौं । कात्तिक १४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकाङ्क्षा भएको बताउनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज मङ्गलवार गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रूपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालले शान्ति प्रक्रियालाई सफलतापूर्वक अघि बढाएको अवगत गराउँदै भन्नुभयो, ‘हाम्रो शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुनसक्छ भन्ने हाम्रो विश्वास छ ।’ अहिले आफूहरू शान्ति प्रक्रिया–सङ्क्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङ्ग्याउनमा संलग्न रहेको उल्लेख गर्दै उहाँले आफ्नो अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नुरहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अहिले हामी जहाँ उभिरहेका छौँ, भगवान् बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्र होइन, शान्ति र सद्भावको केन्द्र हो जसले मानवजातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा व्यापक रूपमा प्रेरणा र मार्गदर्शन गरिरहन्छ ।’
प्रचण्डले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणको विशेष महत्त्व रहेको र यसले विश्वव्यापी रूपमा समान मूल्यको संरक्षण र प्रवर्द्धन गर्न खोज्ने संयुक्त राष्ट्र सङ्घको बडापत्रबीच रहेको सहजीवन सम्बन्धलाई सुदृढ पार्ने धारणा व्यक्त गर्नुभयो । उहाँले गुटेरेसको विश्वव्यापी महत्त्वको ऐतिहासिकस्थलको भ्रमणको प्रशंसासमेत गर्नुभयो ।
विश्व शान्ति र सुरक्षा सुनिश्चित गर्न सबै प्रकारका असमानता, अन्याय, शोषण, वञ्चितता र गरिबीको अन्त्य गरिनुपर्ने प्रधानमन्त्री प्रचण्डको जोड थियो ।