ग्वार्को ओभरपासको म्याद चार महिनामात्रै बाँकी हुँदा बल्ल काम सुरु
काठमाडौं । कात्तिक १४, चक्रपथ सडकखण्ड अन्तर्गत ललितपुरको ग्वार्को चोकमा ओभरपास सम्पन्न हुनुपर्ने म्याद चार महिनामात्रै बाँकी हुँदा बल्ल काम सुरु भएको छ ।
दुई वर्षमा सो ओभरपास बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो ।
त्यसअनुसार ११ फागुनसम्ममा परियोजना सम्पन्न हुनुपर्ने हो । तर, निर्माण कम्पनीले भर्खरै मात्रै काम सुरु गरेको छ । परियोजनाको काम करिब २० प्रतिशत मात्रै सकिएको र तीन सिफ्टमा काम गरे पनि यो समयमै सकिने सम्भावना नभएको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेश शाक्यले बताए ।
आशिष र समानान्तरको जेभीले इन्जिनियरिङ, प्रोक्योरमेन्ट तथा कन्स्ट्रक्सन (ईपीसी) मोडलमा १७ करोडमा सो परियोजनाको ठेक्का पाएको थियो ।
यो मोडलमा परियोजनाको लागत तथा समयावधि थप गर्न मिल्दैन । तर, सरकारले भने डिजाइनमा त्रुटि भएको भन्दै परियोजनाको म्याद थप गर्ने तयारी गरेको छ ।
नेपाल सरकारका पूर्वसहसचिव तथा सार्वजनिक खरिद विज्ञ कमल पान्डे ईपीसी मोडलको ठेक्कामा समय र लागत थप गर्न नमिल्ने बताउँछन् । सडक विभागले नै यसअघि स्वीकृत गरेको डिजाइनमा त्रुटि देखिएको भन्दै म्याद थप गर्नु गलत हुने बताउँछन् ।