सरकारी कर्यालयहरुले नै विद्युत बक्यौता तिर्न छाडेपछि धमाधम लाइन काट्दै प्राधिकरण
काठमाडौं । कात्तिक १५, सरकारी कर्यालयहरुले नै विद्युत बक्यौता तिर्न छाडेपछि धमाधम विद्युत् लाइन काटिन थालेको छ ।
मंगलबार काठमाडौंको केन्द्रीय कारागारको लाइन काटेको नेपाल विद्युत् प्राधिकरणले बुधबार पोखराका १० वटा सरकारी कार्यलयको विद्युत् लाइन कटौती गरेको छ ।
कारागारले १ करोड ४६ लाख ६७ हजार रुपैयाँ तिर्न बाँकी छ । कारागारले लाइन काट्दा रातिको समयमा कैदी भाग्न सक्ने भन्दै छिट्टै भुक्तानी गर्ने प्रतिवद्धता जनाएर लाइन जोड्न आग्रह गरेपछि प्राधिकारले पछि लाइन जोडिदिएको थियो । तर बुधबार पोखरास्थिति गण्डकी प्रदेशका मन्त्रालयहरुकै लाइन काटिएको छ ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समेत लाइन काटिएको छ । प्राधिकरणका अनुसार मन्त्रालयहरुले करिब १ लाख ५३ हजार रुपैयाँ महशुल तिर्न बाँकी थियो ।
प्राधिकरणले पोखरास्थित प्रादेशिक कृषि निर्देशनालयको लाइन काटेको जनाएको छ, जसले २३ हजार ३४१ रुपैयाँ महसुल तिर्न बाँकी छ ।