पर्यटक आगमनमा उत्साहजनक वृद्धि
काठमाडौं । कात्तिक १५, पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ ।
सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी संख्या हो ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या थियो । यो रेकर्ड यस वर्ष तोडिएको हो ।
अक्टोबर महिनामा गैरआवासीय नेपालीको जमघट नेपालमा हुन्छ । उनीहरु समेत नेपाल आउँदा पर्यटकका रुपमा गणना हुन्छ । यो सम्मेलनको प्रभाव समेत यस महिनामा परेको देखिन्छ ।
व्यवसायीहरुका अनुसार भारत, बंगलादेश, चीन, श्रीलंकासहितका मुलुकबाट आउने सबैजसो पर्यटक नै भएपनि अमेरिका र युरोपबाट आएकाहरुमा गैरआवासीय नेपालीको समेत संख्या उल्लेख्य रहने गर्छ ।